☰ open Loading... 3 May 2024|  

मुगुमा चल्न थाल्यो ‘नगर बस’
पश्चिम नेपाल   | ७ मंसिर २०८०, बिहीबार २१:११

मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्र भित्र सर्व-साधारणका लागी नगरबस सेवा संचालनमा ल्याएको छ।

बिहीबारबाट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र संचालन हुने गरि बस सेवा संचालनमा ल्याएको हो। नगरपालिकाले ८४ लाखमा दुई वटा बस खरिद गरेको छ।

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ।

छाँयानाथ रारा नगरपालिका –१४ बाम गाउँसम्मको २२ किलोमिटर सम्मको रुटमा बिहिबारबाट एक कार्यक्रमकाबिच औपचारीकरुपमा बस सेवाको उद्घाटन गरिएको हो।

नगरपालिकाको १४ वडाका ८७ बस्ती मध्ये दुई बस्तीमा सडक संजाल पुगेको छैन। अन्य सबै बस्तीमा सडक पुगेको भएपनी सर्व-साधरणले सहुलियत दरमा यातायात सुविधा पाएका थिएनन्।

नगरपालिकाको यस कदमलाई स्थानीयले प्रशंसा गरेका छन्। सुहलियत दरमा यातायात सेवा पाएमा राहत मिल्ने उनीहरुको भनाइ छ।

यसअघि सडक संजाल जोडिएका बस्तिहरुमा संचालनमा रहेका जिपहरुले मनपरी भाडा असुल्दै आएका थिए। नगरपालिकाले बस संचाल गरेसँगै उनीहरुको एकलैटि भाडा असुल्ने मनोमानीमा ब्रेक लाग्ने देखिएको छ।

गमगढी देखी बाम गाउँसम्म जिपहरुले प्रति व्यक्ति एकतर्फीकाे मात्र ६ सय रुपैयाँसम्म लिँदै आइरहेका छन्।

नगरपालिकाले आफ्नो सेवा मार्फत प्रति व्यक्ति ३ सय र विशेष क्षमता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नगर बस संचालन कार्यविधि अनुसार भाडामा छुट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए।

नगर प्रमुख विष्णु कुमार भामले आफ्नो चुनावी नारामा चार वटा नगर बस खरिद गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता पुरा गर्न नगर बस संचालनमा ल्याइएको उनले जनाए।

‘नगरवासीको सहज यातायात पहुँचका लागि पाँच बर्षे कार्यकालमा चार वटा नगर बस खरिद गर्ने प्रतिबद्धता जनाएको थिए। सोही अनुसार पहिलो चरणमा दुई वटा बस खरिद गरेका हौं।’ उनले भने।