☰ open Loading... 3 March 2024|  

स्कुल बस दुर्घटना: चालक र २ विद्यार्थीकाे मृत्यु
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार १९:१४

उदयपुरमा स्कुल बस दुर्घटनामा पर्दा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शनिबार बिहान वनभोज (पिकनिक) खान गएको त्रियुगा नगरपालिका-६ देउरी जलजलेस्थित अन्नपूर्ण सेकेण्डरी बोर्डिङ स्कुलको विद्यार्थी सवार बस दुर्घटना हुँदा बसमा सवार ३९ मध्ये ३ जनको मृत्यु भएको हो।

विद्यालयको प्र १–०५–००१ ख ००४४ नं. को स्कुल बस मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी-७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्तीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

आफै अनियन्त्रित भई सडकमुनि खसेर उत्तानो हुने गरी दुर्घटनामा पर्दा चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सोनीयाकुमारी चौधरी र ६ वर्षीय विकास चौधरीको निधन भएको प्रहरीले जनाएको छ।

मृतकहरु सबै त्रियुगा नगरपालिका-६ कै भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विद्यालय सञ्चालकहरु केही अभिभावक र विद्यार्थी लिएर उदयपुरगढी ७ अँधेरीस्थिस्त अँधेरी झर्नामा वनभोज खान गएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।

दुर्घटनामा परेकामध्ये अवस्था गम्भीर भएका ११ जनालाई धरान र विराटनगर रिफर गरिएको अस्पताल प्रमुख डा. ज्ञानेन्द्रकुमार झाले बताए। अन्य घाइतेहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको डा. झाले बताएका छन्।

दुर्घटना लगत्तै स्थानीय संगम चोक चौकी, इलाका प्रहरी कार्यालय जलजले र सदरमुकाम गाईघाटबाट खटेको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएको थियो। घाइतेहरूको नाम ठेगाना सबै खुलिनसके पनि धेरैजसो विद्यार्थी र अभिभावक भएका कारण देउरी जलजले आसपासकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ।