☰ open Loading... 23 February 2024|  

बाक्लो हिमपातले सकस
पश्चिम नेपाल   | १८ मंसिर २०८०, सोमबार १४:३६

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एकफिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार सोमबार बिहानैदेखि हिउँ पर्न थालेको हो। बाक्लो हिउँ परेका कारण कागबेनी–मुक्तिनाथ सडक समेत अवरुद्ध भएको छ। कागेबेनीदेखि मुक्तिनाथ उक्लिो बाटोको सेल्फीडाँडा क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएको डिएसपी पाण्डेले बताए।

‘मुक्तिनाथ–कागबेनी सडक अवरुद्ध भएको छ। खुलाउने प्रयास भईरहेको छ। त्यो खण्डमा कालोपत्रे सडक रहेको र हिउँमा चिप्लिएर गाडी गुुड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक खुलाउन सहजीकरण गर्नका लागि प्रहरीको टिम नै खटिएको छ।’ उनका अनुसार सोमबार बिहान ६ बजेदेखि परेको हिमपात अझै रोकिएको छैन। चिसो पनि अधिक नै बढेको छ।