☰ open Loading... 12 June 2024|  

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ
रमेशविक्रम हमाल   | २१ मंसिर २०८०, बिहीबार १३:१०

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित केही जिल्लाहरूमा जनधनको ठुलो क्षति भयो।

सामान्य जीवनयापन गरेर आफ्नो दैनिकी बाँचिरहेका जाजरकोटे जनता अहिले ठुलो समस्यामा छन्। भूकम्प लगत्तै हामी सुर्खेतबाट उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र विभिन्न लायन्स क्लबहरूसहित राहत लिएर जाजरकोट पुग्यौँ।

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर हुँदै हामी जब जाजरकोट सदरमुकाम खलङ्गा पुग्यौँ, त्यहाँको अवस्था दर्दनाक र भयानक पायौँ। खलङ्गा पहिलेजस्तो थिएन। घरहरू ढलेका, मानिसहरू यताउता हिँडिरहेका, कोही निराश, कोही हतारिइरहेका, कोही दौडिरहेका त कोही आफ्नो खाने सुत्ने व्यवस्थापन गरिरहेका देखिन्थे।

केही बेर भूकम्पले भत्किएका संरचना र पीडितहरूको अवस्था नियालेपछि हामी सदरमुकामको जिल्ला अस्पताल पुग्यौँ। मलाई लागेको थियो, अस्पताल भूकम्पका कारण घरभित्र च्यापिएर घाइते भएकाहरूले भरिएको होला। त्यहाँको अवस्था मैले सोचेको जस्तो थिएन। हामी अस्पताल पुग्दा सात–आठ जना बिरामीहरू मात्रै हुनुहुन्थ्यो । यो देखेर एकदमै खुसी लाग्यो। खुसी यस अर्थमा की मेरो अनुमानले फेल खाएको थियो। गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत सुर्खेत र नेपालगन्ज लगिएको थियो।

जाजरकोट सदरमुकामको अवस्था हेरिसकेपछि हामी अर्को प्रभावित पालिका नलगाडतर्फ लाग्यौँ। नलगाड पुग्दा चकमन्न अँध्यारो भइसकेको थियो। नयाँ ठाउँ भएकाले भूगोलको पत्तो हुने कुरो रहेन। त्यो राति हामी नलगाडमै सुत्यौँ।

१९, कात्तिकको बिहान हामी नलगाड–१ को चिउरीगाउँ लाग्यौँ। बाटोहरू चिराचिरा परेका। ठाउँ ठाउँमा सुख्खा पहिरो आइरहेको थियो। चिरा परेका सडक छिचोल्दै र पहिरोलाई पन्छाउँदै अगाडि बढ्यौँ। जब हामी चिउरीगाउँ पुग्यौँ, त्यहाँको अवस्था सदरमुकाम खलंगाको भन्दा पनि भयावह थियो। जहाँ हे¥यो सग्ला घरहरू थिएनन्। देखिएका केही ठाडा देखिने घरहरू पनि भित्रभित्रै चर्किएर ढलुँढलुँ जस्ता गरेर उभिएको भान हुन्थ्यो।

गाउँका केही युवाहरू ओहोरदोहोर गरिरहेका थिए, सायद समानहरू लिन होला। कसैको अनुहार उज्यालो थिएन। कोही ओत लाग्न त्रिपाल ठड्याउँदै थिए। कोही रात कटाउनका लागि पाखोबारीमा सम्म्याउँदै थिए।

मेरै आँखा अगाडिका यी दृश्य देखिरहँदा पनि कसैसँग मेरो बोल्ने हिम्मत आएन। अलि पर पुग्दा अझ अर्को दृश्यले आँखाले आँसु रोक्न सकेन । १३ वटा लास सेतो कपडाले बेरिएका थिए। यहाँको अवस्था कोलाहलमय थियो। कोही रुँदै थिए, कोही सेतो कपडाले बेरिएका लासमा झिँगा भन्काउनका लागि पातीले हम्किँदै थिए।

घाटसम्म लिनका लागि युवाहरू बाँस काट्दै थिए। कोही बाँसमा लास राख्ने गरेर तयारी गर्दै थिए। तिहारका दिदी–भाइ र दाजु–बहिनीका घाँटीमा लगाउन फुलेका फुलहरूलाई उनेर भूकम्पमा दिवङ्गत भएकाहरूलाई चढाउने तयारी गर्दै थिए। सधैँ तस्बिरहरू खिचिरहने म यो अवस्थामा क्यामरा पनि अघि सार्न सकिन्। १३ वटा लास नजिकै रहेकी प्रेमकली (गाउँमा पिरिमकली भन्दा रहेछन्) तर्फ मेरो ध्यान केन्द्रित थियो। प्रेमकलीले सम्पूर्ण परिवारलाई गुमाइन्। आफू भने भूकम्पबाट बचिन्।

मनमनै मैले प्रेमकलीलाई हेरेर प्रश्न गरेँ, आफ्ना सबै गुमाएर बाँच्नु पनि कसरी? अब प्रेमकलीको भविष्य के हुने होला? उनको मनको पीडा भावना कसले कसरी बुझिदिनेहोला? बाँच्नु पनि त सङ्घर्ष हो नि । मर्ने मान्छे मरेर गयो बाँच्ने मान्छे पलपल मर्नुपर्ने के यहीँ हो जीवन?

भर्खरै माटो फोडेर उम्रन लागेका गहुँका बारीमाथि घर भत्किएकाहरूको बास भएको छ। गहुँका टुसा पनि भूकम्पले मानिस च्यापिएजस्तै मानिसबाट उनीहरू च्यापिएका छन्। त्यहाँको तत्कालीन अवस्थाले हामीले लगेर गएको राहत वितरण गर्न सक्ने अवस्था थिएन। १३ वटै लासलाई नलगाड खोलामा लगेर जलाइने तयारी थियो। हामी अर्को दिन राहत वितरण गर्ने निर्णय गरेर भूकम्पको केन्द्रबिन्दु बारेकोटतर्फ लाग्यौँ।

बाटो सहज थिएन। सुख्खा पहिरो आइरहेको थियो। पहाडबाट खस्ने ठूलाठूला ढुङ्गाबाट बच्दै हामी बारेकोटको रामीडाँडा पुग्यौँ। भूकम्पको केन्द्रबिन्दु भएकाले खलङ्गा र नलगाडको भन्दा धेरै क्षति पुगेको होला भन्ने मेरो अनुमान थियो। तर, यहाँ घरहरू पनि ठडिएकै देखिए। भलै भित्रबाट चर्किएका भएपनि । भूकम्पको केन्द्रबिन्दु भएपनि बारेकोटमा मानवीय क्षति थिएन। रामीडाँडाबाट हामी बाक्लो बस्ती सिर्पाचौर पुग्यौँ।

आहा काठमाडौँ उपत्यकाका नेवारहरूको बस्ती जसरी बाक्ला टाँसिएका कति राम्रो बस्ती। परम्परागत र एकनासका घरहरू। मन फुरुङ्ग भयो। सिर्पाचौर प्रकृतिको अनुपम लाग्यो। बाहिरबाट हेर्दा सिर्पाचौर जति राम्रो थियो, भित्र प्रवेश गर्दा त्यति नै दुःखदायी थियो। सिर्पाचौरका करिब १५० भन्दा बढी घरहरू केही भत्किएका र केही चर्किएका देख्यौँ। मानिसहरू तरकारी फलाउने टनेलमा बसेका, खेतबारीभरि साना साना त्रिपाल राखेर ओत लागिरहेका, कोही आफ्ना घरका सामानहरू पन्छाउँदै गरेका थिए।

यति बाक्लो बस्तीमा ६ जना मात्र सामान्य घाइते सुन्दा चाहिँ मन भित्रभित्रै गदगद भयो। सिर्पाचौरलाई पुरानै लयमा फर्काउन धेरै समय र खर्च लाग्ने मैले पाएँ। अनि मनमनै सोचेँ, के सरकारले फेरि सिर्पाचौरलाई पहिलेकै अवस्थाको सुन्दर बनाउन सक्ला? यहाँ पुगेपछि मैले केही समय बालबालिकासँग बिताए। उनीहरूसँग खेले। केही कुराकानी गरेँ। सँगै ल्याएको खानेकुरा दिए।

सिर्पाचौरबाट फर्किने बेलामा सोचेँ, अब यी बालबालिकाले कसरी पढ्न पाउलान्? कसरी होमवर्क गर्लान्? न सुत्ने ठाउँ, न पढ्ने गाउनै। बारीको पाटोमा छ सानो त्रिपालको छानो। त्रिपालबाट तारा देखिन्छ। उच्च पहाडी क्षेत्र भएकाले चिसो बतासले शरीर काँप्छ। त्रिपालबाट खसेको सितले निथ्रुक्क बनाउँछ। हामी त एक दिनको पाहुना थियौँ। गयौँ र फर्कियौँ। यो हिउँ पर्ने ठाउँमा यसैगरी त्रिपालमुनि सधैँ बस्नेहरूको पीडा कसले बुझिदिने ?

ठुलाले त मनको बह सुनाउँछन्। मन हलुङ्गो पनि हुन्छ होला। तर, बालबालिकाको पीडा र बह कसले सुनिदेला? बालबालिकाका लागि केही काम गर्ने अठोट बोलेर भारी मन लिएर फेरि नलगाड फर्कियौ। बाटोको यात्राका त्रास उस्तै थिए। भोलिपल्ट बिहानैदेखि हामीले सुर्खेतबाट लगेका समान घरघर पुर्‍यायौं।

हामी राहत बाँड्न जाँदा स्थानीयहरू पुरिएका घरहरू खोतल्न थाल्नु भएको थियो। गोठमा परिएका चौपाया निकाल्दै हुनुहुन्थ्यो। यस्तो पीडाको बिचमा पनि भूकम्प पीडितहरू भन्दै हुनुहुन्थ्यो, बाबु तपाईँहरू पनि भोकै हुनुहोला केही खाएर जानुहोस्। यसो भनिरहँदा २०७२ सालको भूकम्पमा म काठमाडौँमा खटिएको थिएँ। साखुमा एक आमाको याद आयो। उहाँको घर पूरै भत्किएको थियो। पहलबाट पालमा आउँदा पनि उहाँको बोली र व्यवहारले दिइरहेको हौसmला मेरा लागि अहिले पनि प्रेरणा हो। उहाँले पनि सहयोग गर्न जानेहरूलाई उल्टै खाजा खुवाएर पठाउनुहुन्थ्यो।

मलाई लाग्यो, साँच्चै हामी महान् छौँ। जस्तोसुकै दुःखमा पनि हामीहरूले गर्ने आदर र सत्कार सायदै कहीँ पाइँदैन होला।

जाजरकोटको बसाई तीन दिन भएपनि अनुभव वर्षौँ लगाएर सँगालिएको जस्तो रह्यो। न हामी सरकार? न हामी परिचित व्यक्ति? न हामी धनाढ्य? तर पनि आफूले गर्न सक्ने काम र सहयोग गरौँ भनेर जाजरकोट गएका थियौँ सुर्खेत पुगेपछि स्वचिराको छु, कहिले भूकम्प पीडितहरूले सुख पाउलान्? दिनदिनै चिसोले पीडितहरू मरिरहेको समाचार सुनिन्छ। कहिले उनीहरूले तातो हुने घर पाउलान्?

जय सामाजिक कार्य

जय देश

जय नेपाली

(लेखक एसओएस हर्मनमाइनर विद्यालयमा आबद्ध छन्।)