☰ open Loading... 18 May 2024|  

सुन्तलाबाट लाखौं कमाउँछन् किसान
पश्चिम नेपाल   | २३ मंसिर २०८०, शनिबार १८:५३

यतिबेला स्याङ्जाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्।

सुन्तला उत्पादनमा पहिचान कमाएको स्याङ्जा यतिबेला सुन्तलामय बनेको छ। यतिसम्मकी सिद्धार्थ राजमार्ग भएर आउजाउ गर्नेले पनि अहिले सडक किनारमै चाहेजति सुन्तला किन्न पाउँछन्। राजमार्ग भएर हुँइकिनेले सडक किनारमा थुप्रो बनाएर बेच्न राखेको सुन्तला किन्दै स्वाद लिइरहेको पनि भेटिन्छ।

सरकारी तथ्यांक अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट निकै नै ठूलो आम्दानी गरिरहेको छ। सुन्तला खेती गर्ने सामान्य किसानले पनि वर्षमा कम्तीमा एक लाख रुपैयाँ सहजै कमाउन सकेका छन्। जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षौँदेखि बाझिएको जग्गालाई पनि किसानले सुन्तला खेतीमा परिणत गर्न थालेका छन्।

हुन त स्याङ्जामा सुन्तला खेती हुन थालेको धेरै नै वर्ष भयो, तर, पछिल्लो समय यसले यति धेरै व्यावसायिकता पाउँदै गयो की सुन्तला खेती नगर्ने किसान भेट्टाउन मुस्किल हुन थालेको छ। स्याङ्जाले झन्डै चार दशकदेखि सुन्तला उत्पादन थालेको भएपनि गत वर्ष सर्वाधिक बढी आम्दानी जिल्लाले भित्र्याउन सकेको थियो। त्यो आम्दानीमा यो वर्ष केही कम भएपनि जिल्लाले सुन्तला उत्पादनबाट लाभ भने नियमित पाइरहेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका प्रमुख माधव लम्साल भन्छन् ‘गत वर्ष स्याङ्जाले सुन्तला बेचेर मात्र एक अर्ब ३८ करोड रुपैयाँ भित्र्याएको थियो। कम्तीमा एक अर्ब रुपैयाँ त किसानकै हातमा परेको थियो।

पोहोर सबैगरि २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ। तर, यो पटक उत्पादनमा केही कम भएको छ। यो वर्ष पनि कम्तीमा एक अर्ब रुपैयाँ आम्दानी हुने आङ्कलन रहेको लम्साल बताउँछन्। यो वर्ष उत्पादन केही घट्दा १७ हजार मेट्रिक टन सुन्तला फल्ने अनुमान रहेको उनले बताए। स्याङ्जाले परार झन्डै ७५ करोड रुपैयाँको सुन्तला उत्पादन गरेको थियो।

उनका अनुसार सुन्तलाको फल्ने साइकल नै यस्तो हुन्छ की एक वर्ष अधिक फल्ने र अर्काेवर्ष केही कम फल्ने हुन्छ। त्यसैले आगामी वर्ष अहिले भन्दा बढी फल्ने अपेक्षा रहेको लम्सालले बताए। उनका अनुसार यो वर्ष उत्पादन घट्ने पालो पनि हो। त्यसबाहेक सुरुमै केही रोग किरा पनि लाग्यो, केही प्राकृतिक रुपमै पनि कम फल्ने गर्दा उत्पादनमा असर परेको उनले सुनाए।

‘सुन्तला बेचेर वर्षमा १० लाख रुपैयाँ कमाउने किसान त सयौं छन्। एकै जना किसानले वर्षमा झन्डै ४० लाख रुपैयाँसम्म पनि सुन्तलाबाटै आम्दानी गरेका छन्। एक–दुई लाख रुपैयाँ कमाउने किसानको त यहाँ लेखाजोखा नै छैन,’ लम्साल भन्छन्, ‘पछिल्लो समय सुन्तला खेतीले यति धेरै किसानलाई लोभ्यायो की धान मकै फल्ने खेतबारी समेत मासेर किसानले सुन्तलाका बिरुवा रोपेका छन्। वर्षौँदेखि खेती नभएर झाडी बनेको जग्गालाई पनि अहिले खनखोरस गरेर सुन्तला खेती गर्न योग्य बनाएका छन्।’

लम्सालका अनुसार अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबैगरि २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यो मध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी नौ सय हेक्टरको क्षेत्रफलका बिरुवा उत्पादन दिने तयारीमा छन्।

केही आगामी सिजनमा र कतिपय बिरुवाले अझै केही वर्षपछि उत्पादन दिनेछन्। स्याङ्जामा पोहोर प्रतिहेक्टर झन्डै १७ मेट्रिक टन सुन्तला फलेको अनुमान थियो, तर, यो वर्ष १२ मेट्रिक टन मात्र फल्ने उत्पादन दिएको अनुमान लम्सालको छ।

यो वर्ष उत्पादन घटेकै हो। तर, आगामी वर्ष राम्रो हुने अपेक्षामा छौ। आलोपालो अनुसार यो वर्ष कम फल्ने पालो परेकोले पनि केही घटेको हो,’ अर्यालले भने, ‘अहिले कम फले पनि किसान निराश छैनन्, आगामी वर्ष पक्कै राम्रो फल्नेछ।’

किसानले सुन्तलाबाट आशावादी भएर लगानी र मेहनत गरिरहेको उनले सुनाए। ‘स्याङ्जाका किसान सुन्तलासँग निकै नै हौसिएका छन्,’ उनले भने, ‘आम्दानी पनि हरेक वर्ष बढ्दै गएको छ। किसानको दैनिकी धान्ने माध्यम नै सुन्तला उत्पादन बनेको छ।’

स्याङ्जाको अर्जुनचौपारी, भीरकोट, वालिङ, पुतलीबजार लगायतका सबैजसो स्थानीय तहमा व्यावसायिक रुपमा सुन्तला खेती हुने गरेको छ। किसानले पोहोर ५५ रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बेचेका थिए । तर, अहिले उत्पादन केही कम भएकोले प्रतिकिलो ६५ रुपैयाँसम्म बेच्ने गरेको लम्सालले बताए ‘बजार अभाव छैन।

स्थानीय सँगै पोखरा, बुटवल सम्म सहजै बिक्री भएको छ। त्यसबाहेक ठाउँ ठाउँबाट ठेकेदार आएर सुन्तला किनेर लगेका छन्, बगैंचाबाटै बिक्री भएकोले उत्पादनले बजार नपाउने चिन्ता किसानलाई छैन,’ उनले भने।