☰ open Loading... 3 March 2024|  

छडको मूल्य घट्यो, सिमेन्टको स्थिर
पश्चिम नेपाल   | २६ मंसिर २०८०, मंगलवार ०७:०५

हिउँद लागेसँगै देशैभर निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएको छ । गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घर, जग्गा, आवास निर्माण लगायतमा प्रवाह हुने कर्जा नीतिमा केही सहजीकरणको नीति लिएपछि निर्माण क्षेत्रको मनोबल बढेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

अर्थतन्त्र सुधारको प्रमुख आधारको रुपमा रहेको निर्माण क्षेत्रको उकासिएको मनोबल, बजार मूल्य र उपभोक्ताको क्रयशक्तिबीच समन्वय हुनसके पछिल्लो डेढ वर्षदेखि अर्थतन्त्रले भोगेको संकुचनको अवस्थामा सुधार आउने देखिन्छ ।

निर्माण सामग्री उत्पादन गर्ने र व्यापार गर्नेहरु बजारमा यस्ता सामग्रीको माग निकै कमजोर भइरहेको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा नयाँ माहोल सिर्जना गरिदिएपछि उपभोक्ताहरु निर्माणको चासो बढेको भन्दै केही उत्साहित भने देखिन्छन् ।

विगत एक डेढ वर्षमा फलामे छडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य भने स्थिर देखिन्छ । डेढ वर्षअघि अर्थात् २०७८ को अन्तिमतिर छडको मूल्य प्रतिकिलो १२४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेको मूल्य अहिले ९२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

यही पृष्ठभूमिमा हामीले काठमाडौं उपत्यकाको बजारलाई आधार मानेर निर्माण सामग्रीको पछिल्लो मूल्य अवस्था यहाँ प्रस्तुत गरेका छौं ।