☰ open Loading... 10 December 2024|  

हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति
पश्चिम नेपाल   | २८ मंसिर २०८०, बिहीबार १७:२९

 

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका छन्।बिहीबार काठमाडौंमा २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगीताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हस्तकला क्षेत्रले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नपर्ने बताएका हुन्।

हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको उनले बताए।

उनले हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी रहेको जनाए।

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाको प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक रहेको जिकिर गरे।

हस्तकला अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्‍याउने उनले बताए।

नेपाल हस्तकला महासंघको आयोजनामा सुरु मेला पुष २ गतेसम्म काठमाडौंको दरवारमार्गस्थीत अन्नपूर्ण होटलमा मेला सञ्चालन हुनेछ। मेलामा हस्तकलाका करिव १ सय ३० वटा स्टल रहेका छन्। मेला अन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ मा प्रतियोगिता सञ्चालन हुने महासंघले जनाएको छ।