☰ open Loading... 24 February 2024|  

आहा! बाँसका घर
पश्चिम नेपाल   | ३ पुष २०८०, मंगलवार ०९:५४

हिमाल, पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्म जताततै पाइने स्थानीय वनस्पति बाँसको काम केके होला? तपाई हामीले बाँसको खपत गर्दा प्रायः घर छाउन, घेराबार गर्न, टाटी बेरा बनाउन प्रयोग गर्छौं भने व्यावसायिक रूपमा मुडा, मान्द्रो, डालो, नाङ्लोजस्ता चोयाजन्य दैनिक प्रयोगका सामग्री बनाउन पनि यसको प्रयोग गरिछ।

तर, बाँसको काम यति मात्र होइन, अरू धेरै कुरामा यसलाई प्रयोग गर्न सकिन्छ। पछिल्लो समय बाँसको खम्बासहितको घर बनाउन थालिएको र यो निकै उपयोगी र भूकम्पीय जोखिममुक्त हुने सिद्ध भएको छ।

अहिलेसम्म बाँसलाई कच्चा पदार्थको रूपमा मात्र प्रयोग गर्ने गरिएकोमा अब उपचार गरेर दिगो र टिकाउ बनाउन थालिएको छ।

टिकाउ बनाउन मक्किन र किराले खानबाट बचाउन सक्यो भने बाँसको सही उपयोग गर्न सकिने प्राविधिकहरू बताउँछन्।

पछिल्लो समय ५० वर्षसम्म टिक्ने मजबुत घर बनाउने काममा बाँसको उपयोग गर्न थालिएको छ। यस्तो प्रविधिका घरहरू उदयपुरमा निर्माण भएर प्रयोगमा आइसकेका छन्।

त्रियुगा नगरपालिका वडा नम्बर ३ र ४ मा बनाइएका यस्ता घरहरू बग्रेल्ती देख्न सकिन्छ। त्रियुगा नगरपालिकाले ‘ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल’सँग सहकार्य गर्दै यी घर निर्माण गरेको हो। सामाजिक संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक)को अगुवाइमा नगरपालिकाका दुईवटा वडामा बाँसको प्रयोगबाट ४२ वटा घर निर्माण भइसकेका छन्।

गत आर्थिक वर्ष निर्माण सुरु भएका घरहरू अन्तिम चरणमा पुगिसकेका छन्। हुरेन्डेकका कार्यक्रम संयोजक इन्जिनियर धु्रवराज कार्कीका अनुसार दसैंभित्र कम्तीमा २० वटा घर बनाइसक्ने गरी काम भइरहेको छ।

नगरपालिकाले बाँसको घर बनाउने कार्यक्रममा नगर साझेदारी गरेको छ। एउटा भान्सा कोठा र दुईवटा सुत्ने र बस्ने कोठासहितको घरमा बरन्डा, सिँढी र शौचालय अनिवार्य गरिएको छ। एउटा घर बनाउन पाँच लाख ३८ हजार ६ सय ४० रूपैयाँ खर्च हुने प्राविधिक अनुमान बनेको कार्यक्रम संयोजक कार्कीले बताए।

कुल लागत पाँच लाख ३८ हजार ६ सय ४० रूपैयाँमध्ये दुई लाख हुरेन्डेक र नगरपालिकाले दुई–दुई लाख बेहोर्नेगरी बन्ने घरका लागि बाँकी एक लाख ३८ हजार ६ सय ४० रूपैयाँ भने घर परिवार र उपभोक्ता समितिले जनश्रमदानबाट योगदान गर्नुपर्ने प्रावधान रहेको छ।

यो सुविधाले घर बनाउन पैसा नहुने विपन्न परिवारले श्रमदान गरेरै चिटिक्कको पक्की घरमा बस्न पाउने सुविधा मिलेको त्रियुगा नगरका नगरप्रमुख वसन्त बस्नेतले बताए।

प्रमुख बस्नेतले घर बनाउन नसक्ने नगरभित्रका गरिब, असहाय, दलित तथा विपन्न वर्गका नगरबासीलाई आवास व्यवस्थापन गरिदिन ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत यो कार्यक्रम लागू गरिएको बताएका छन्।

संविधानमा सबै नागारिकलाई सुरक्षित आवासको व्यवस्था मिलाउने उल्लेख भएअनुसार सो कार्य गर्न यसले सहयोग गरेको बस्नेतले बताए।

प्रमुख बस्नेतले आफ्नो कार्यकालभर एक हजार परिवार विपन्न र गरिब परिवारलाई बाँसको घर निर्माण गरी नगरबासीलाई सुरक्षित आवास उपलब्ध गराउने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। बाँसका घरमा शौचालय, पिउने पानी र घर नजिक सागसब्जी र तरकारी फलफूल उत्पादन गर्न करेसाबारी हुनुपर्ने प्रावधान पनि समेटिएको छ।

त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले नगरपालिकाकाका घरविहीन परिवार तथा आर्थिक अवस्था कमजोर भएकै कारण घर बनाउन नसकेर चुहिने छानामुनि बास बस्न बाध्य नागरिकलाई सुरक्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताइन्।

गरिबीका कारण घर भत्केर, छानो चुहेर घामपानी सहेर बस्नुपर्नेका लागि यो योजना बरदान सावित हुने अपेक्षा गरिएको पनि उपमेयर राईले बताइन्।

भूकम्प जोखिमको दृष्टिकोणले खतरामुक्त र लगानीको हिसाबले सानो खर्चमा यस्ता घर बनाउन सकिने र स्थानीय स्रोत साधन (बाँस, बालुवा, गिटी, ढुंगा, माटो)को प्रयोगबाट हुने भएकाले उसै पनि यस्तो घर किफायती हुने उनले बताइन्।

साझेदार संस्था हुरेन्डेकका अध्यक्ष शंकरबहादुर थापाले घर बनाउन आवश्यक बाँस हालसम्म झापाबाट ल्याउने गरेको बर्ता । घर निर्माण गर्दा संस्थाका केही सर्त र नगरपालिकाको लक्षित समूह किटान भएको हुनुपर्ने प्रावधान छ। नगरपालिका र संस्थाको मापदण्डभित्र परेका नगरबासीका लागि घर बनाउने गरी सम्झौता भएअनुसार हाल सबै घर निर्माणको अन्तिम चरणमा पुगेको छ।

एउटा भान्सा कोठा र दुईवटा सुत्ने र बस्ने कोठासहितको घरमा बरन्डा, सिँढी र शौचालय अनिवार्य गरिएको छ। एउटा घर बनाउन पाँच लाख ३८ हजार ६ सय ४० रूपैयाँ खर्च हुने प्राविधिक अनुमान बनेको कार्यक्रम संयोजक कार्कीले बताए।

ऐलानी जमिनको हकमा नगरपालिकाले भत्काउन नपाउने सर्तनामामा सहयोगी संस्थाले नगर जनप्रतिनिधिलाई हस्ताक्षर गराउने गरेको छ। यो कार्यक्रम अनुसार पहिलो चरणमा त्रियुगाका वडा नं ३ र ४ का वस्ती छनोट गरी गत आर्थिक वर्ष आधा संख्याका घरहरू बनिसकेका छन्।

वडा नं. ४ बगाहा शिवशक्ति टोलमा एउटै प्लटमा २० घर बनाउने योजनाअन्तर्गत १३ परिवार र बाँकी मिश्रित समुदायका लागि घर बनिसक्न लागेको छ। त्यस्तै, वडा ३ को चाँपमा पनि दलित समुदाय प्राथमिकतामा राखेर २३ घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। वडा नं. २, ५ र १० का बस्तीहरूमा भने चालु वर्षभित्रै घर निर्माण गर्ने योजना नगरपालिकाले बनाएको छ। छ। त्यसका लागि गत साउनको नगरसभाले एक करोड रूपैयाँ विनियोजन गरेको छ।

सुरु चरणमा अशक्त, बिपन्न, गरिव र दलित परिवारलाई बनाउन सुरु गरिएको बाँसका घर अन्य समुदायलाई पनि बनाउने व्यवस्था मिलाउन नगरवासीले माग गरेका छन्। भूकम्पीय जोखिम नहुने, कम लागतमा बनाउन सकिने र दीगो हुने भएकाले सर्वसाधारणलाई पनि यस्तो घर निर्माणको वातावरण बनाउन नगरपालिकामा माग आउन थालेको हो।

विज्ञ प्राविधिकहरूले पनि यस्तो घर निर्माण गर्न सर्वसाधारणलाई पनि छुट हुनुपर्ने सुझाव दिन थालेका छन्।