☰ open Loading... 2 May 2024|  

अम्रिसो बेचेर तीन करोड आम्दानी
पश्चिम नेपाल   | १३ पुष २०८०, शुक्रबार १०:११

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।

गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो। यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए।

अम्रिसो व्यापारीले खरिद गरी भारत, बंगलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताए। यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ।

पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदान जस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताए। उनका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ।

यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन्। यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी संख्या एक सय ९० रहेको छ। बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका ५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।

‘केही वर्ष पहिलेसम्म नांगा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।’

हुप्सेकोट ५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताए।

प्रत्येक दुईदुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरकफरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताए। उनले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गरेका छन्।

‘यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौं’, उनले भने।

प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ भने मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ।