☰ open Loading... 23 February 2024|  

बालकुमारी घटना: गृहमन्त्रीको राजीनामा माग गर्दै सुर्खेतमा प्रदर्शन
पश्चिम नेपाल   | १४ पुष २०८०, शनिबार १७:४९

बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ।

शनिबार सडकमा उत्रिएर यहाँका स्थानीहरूले प्रदर्शन थालेका हुन्। उनीहरुले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरू राख्दै प्रदर्शन गरिरहेका छन्।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो।

मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबिच झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको हो।

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २१ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्।

सुर्खेतमा आइतवार सरकारी गाडी हिड्दुलमा प्रतिवन्ध गर्ने कार्यक्रम रहेको आन्दोलनका एक अगुवा नविन योगीले बताए ।