☰ open Loading... 2 May 2024|  

बालकुमारी घटना: मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति
पश्चिम नेपाल   | १४ पुष २०८०, शनिबार १८:०५

सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्ति स्वरुप जनही १० लाख उपलब्ध गराउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो। सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले जानकारी दिइन्।

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ। घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। साथै सरकारले शान्ति सुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताइन्।