☰ open Loading... 17 May 2024|  

स्वास्थ्य संस्थामा औषधी अभाव
पश्चिम नेपाल   | १७ पुष २०८०, मंगलवार ०६:५९

जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको छ ।गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधी अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । नेपाल सरकारले तोकेका प्रायजसो सबै प्रकारका औषधी स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधी अभाव भएको’ स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतको भनाइ छ ।

सरकारी तवरबाट जाने निःशुल्क औषधी समयमै उपलब्ध नहुँदा तिलाका स्वास्थ्य संस्थामा औषधीको अभाव भएको तिला गाउँपालिका–३ मा रहेको कुडारी स्वास्थ्य चौकीमा प्रमुख विजय रावलले बताए । संघीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाको स्वामित्व र व्यवस्थापनको अधिकार क्षेत्र स्थानीय तहमा गए पनि निःशुल्क बाँड्ने औषधी खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधीको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत फेरबदलले औषधी खरिद बोलपत्रको काम हुन सकेको छैन । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिनलगायतका औषधी अभाव भएको कुडारी स्वास्थ्य चौकीमा प्रमुख रावलले जानकारी दिएका छन् ।

पालिकाले औषधी खरिद गर्न ढिलाइ गर्दा औषधी र सर्जिकल सामग्रीको अभाव देखिन थालेको जनगुनासो आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधी खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाख रुपैयाँको बजेट अबको एक सातापछि टेन्डर प्रक्रियामा गई तिलाका सबै स्वास्थ्य संस्थामा औषधीको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले जानकारी दिएका छन् । पालिकाले यो वर्षका लागि जम्मा ८ लाख बजेट स्वास्थ्य शाखालाई विनियोजित गरेको छ ।

सीमित बजेटको सीमाभित्र भई काम गर्नुपर्ने भएकाले स्वास्थ्य शाखामा देखिएको औषधी अभावलाई हल गर्न जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधीको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधी ल्याएको छु । स्वास्थ्य संयोजक रावतले भने, ‘पालिकाले मलाई स्वास्थ्य संयोजको जिम्मेवारी दिएको एक महिना मात्र भएको छ । स्वास्थ्य संस्थाका पहिलादेखि नै औषधी अभाव रहेको रहेको छ । अहिले पालिकाभित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधीको माग फाराम भरी पठाएको स्वास्थ्य संयोजक रावतको भनाइ छ ।’

प्रशासकीय अधिकृत नहुँदा औषधी खरिदमा दिलाइ भएको हो । अब, पालिकामा प्रशासकीय अधिकृत आइसक्नु भएको छ । औषधी खरिदलगायत अन्य स्वास्थ्य क्षेत्रमा रोकिएका काम अगाडि बढ्ने तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायले स्वास्थ्य संस्थामा देखिएको औषधी अभाव छिट्टै समाधान हुने बताए ।

‘नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिरी भइसकेका छन् । रोकिएको औषधी खरिद प्रक्रिया काम अगाडि बढाएर पालिकामा सबै स्वास्थ्य संस्थामा सहज रूपमा औषधी उपलब्ध गरिने छ,’ गाउँपालिका अध्यक्ष रोकायाले भने ।

साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधी स्वास्थ्य संस्थामा नभएको तिलाका स्थानीयवासी बताउँछन् । स्वास्थ्य संस्थाबाट सहज रूपमा निःशुल्क औषधी लिन सर्वसाधारण वञ्चित भएपछि यहाँका स्थानीयवासी सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । औषधी खरिद र कर्मचारीको खटनपटनको सही व्यवस्थापन हुन नसक्दा यो समस्या आएको स्वास्थ्य शाखाका कार्यरत कर्मचारी बताउँछन् ।