☰ open Loading... 2 May 2024|  

जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !
पश्चिम नेपाल   | १७ पुष २०८०, मंगलवार ११:२५

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो।

नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको भवनमा सहकारीको कार्यालय सञ्चालन गरिएको थियो।

२०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता नगरी उक्त सहकारी करिब १६ महिनादेखि बन्द भएको छ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ जनाले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रूपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जनाए।

गत चैत २३ गते उक्त सहकारीबाट ठगिएका २४ जनाले जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। सोही आधारमा समानता बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राईसहित आठजनालाई पक्राउ पुर्जीसमेत जारी भएको छ। त्यसपछि उनीहरू फरार छन्।

‘उक्त सहकारीबाट को–को ठगिनु भएको छ भनेर हामीले सार्वजनिक सूचना निकालेका छौं,’ उनले भने, ‘अहिले ३२ जना मात्र सम्पर्कमा आउनु भएको छ। यो संख्या बढ्छ र रकम पनि बढ्छ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

साथै उक्त सहकारीले १८ महिनादेखिको घर भाडासमेत नतिरेर सम्पर्कविहीन भएको छ। वेस्टर्न बिजनेस ग्रुप प्रालिको दोस्रो तल्लाको पश्चिमतर्फबाट चार हजार चार सय वर्गफिट क्षेत्र सहकारीले २०७६ साउन १ गतेदेखि भाडामा लिएको थियो।

१० वर्ष अवधि रहने गरी भाडा सम्झौता भएको थियो। सहकारीले बहालमा लिएको क्षेत्रफलको मासिक प्रतिवर्गफुट ५५ रूपैयाँका दरले भाडा तिर्ने सम्झौतापत्रमा उल्लेख छ। प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने भनिएको थियो।

लिखितमा वेस्टर्न बिजनेस ग्रुप प्रालि नेपालगन्जतर्फ अख्तियार प्राप्त कम्पनी सचिव मेहर सिंह खत्री र समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको तर्फबाट अख्तियार प्राप्त सागर केसीले घर भाडा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

‘सम्झौताबमोजिम बहालमा रहेको अवधिभित्र एक पक्षले अर्को पक्षलाई छोड्न वा छोडाउनु परेमा एकअर्काले अग्रिम ६ महिनाको सूचना दिनुपर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘तर दोस्रो पक्षले यस सर्तमा उल्लेखित बहाल उपलब्ध नगराएमा वा दोस्रो पक्षको कारणबाट भएको क्षतिको पुननिैर्माण नगरेमा वा हानि–नोक्सानीको क्षतिपूर्ति नदिएमा दोस्रो पक्षलाई हटाउनका लागि कुनै सूचनाको आवश्यकता पर्ने छैन।’

सम्झौतापत्रमा ६ महिनाअघि नै सूचना दिनुपर्ने उल्लेख भए पनि सहकारी कुनै सूचना नगरी बन्द भएको छ।

१८ महिनादेखि समानता बचत तथा ऋण सहकारी संस्थाले भाडा नदिएको वेस्टर्न बिजनेस ग्रुप प्रालिले जनाएको छ। दुई महिनासम्मको भाडा नतिरेर उक्त सहकारी सञ्चालनमा थियो।

सहकारीले ठगी गर्न थालेको थाहा पाएपछि बचतकर्ताहरू दैनिकरूपमा सहकारी धाउन थाले। पैसा फिर्ता गर्न बचतकर्ताले दिएको दबाबपछि सहकारीको कार्यालय ताला लगाएर बन्द भयो।

‘सहकारी बन्द भएपछि ६ महिनासम्म सञ्चालक सम्पर्कमा थिए,’ वेस्टर्न बिजनेस ग्रुप प्रालिका एक सञ्चालकले भने, ‘त्यसपछि उनीहरू सम्पर्कविहीन भए। हामीहरू भाडाका लागि काठमाडौंसमेत पुग्यौं। त्यहाँ विभिन्न कुरा सुनाैं। भाडा पाउने कुनै सम्भावना नभएपछि रित्तो हात फिर्ता भयौं।’

अहिले उक्त सहकारीको कार्यालयमा वडा कार्यालयले प्रहरीको रोहबरमा ताला लगाएको छ। घर भाडासँगै विद्युत् महसुलसमेत सहकारीले नतिर्दा आफूहरूले तिर्नु परेको उनको भनाइ छ।