☰ open Loading... 19 May 2024|  

तरकारी खेतीबाट वार्षिक १२ लाख कमाउँछन् वडाध्यक्ष
यामराज बिष्ट   | २६ पुष २०८०, बिहीबार ०८:०७

 

दैलेख । नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेका दैलेखको नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा कृषि पेशामा लागेर उदाहरणीय बनेका छन् । पछिल्लो समयमा उनले राजनीतिक सँगसँगै कृषि पेसामा अब्बल कृषकको पहिचान बनाइसकेका छन् । उनले जिल्लामा कृषि व्यवसाय गरेर उदाहरणिय जनप्रतिनिधि मध्ये उनी पर्छन् ।

बिहान ४ बजे उठेदेखि आफ्नो तरकारीबारीमै व्यस्त हुने वडाध्यक्ष थापा ठीक १०बजे वडा कार्यालय पुग्छन् । वडाको काम सकिएपछि साँझको समय तरकारी बारीमै ब्यस्त हुन्छन् । बिहान–बेलुका समयमा कृषि पेसामा होमिएका उनले ४ जनालाई रोजगारी समेत दिएका छन् । नारायण नगरपालिकाका–११ वडामध्ये हरेकजसो कार्यक्रममा पुग्ने र जिम्मेवारी लिएको काम समयमै सक्ने वडाध्यक्ष मध्ये उनी पर्छन  ।

उनले उदाहरण दिएर युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनितिसँगै यो पेशा अंगालेको वडाध्यक्ष थापाले बताए । ‘राजनीतिलाई सेवाको रुपमा लिएकाले मैले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म संचालनमा ल्याएको हुँ’ वडाध्यक्ष थापाले भने ‘वडामार्फत् जनताको सेवा गर्नका लागि आफ्नो व्यवसाय हुन आवश्यक भएकाले कृषि फर्म संचालनमा ल्याएको छ।’

गाउँकै सहकारी बाट ६ लाख भन्दा बढी र आफ्नो डेढ लाख लगानी गरी कृषि पेसा अँगालेका वडा अध्यक्षले आफ्नै ५० रोपनी जग्गामा तरकारी खेती गर्नु गरेका छन् ।

उनले बारीमा आलु, काउली बन्दा र टमाटर लगाउने गरेका छन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । उनले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा १२ लाख बढी आम्दानी गर्दै आएका छन् ।

३३ बर्ष शिक्षण पेसामा सेवा गरेका वडाध्यक्ष थापा २०७४, सालको स्थानीय तहको निर्वाचनदेखि नारायण नगरपालिका–२ को वडाध्यक्षमा लगातार विजयी भएका छन् ।