☰ open Loading... 3 March 2024|  

मुआब्जा वितरणमा हस्तक्षेप भएको भन्दै स्थानीयको विरोध
पश्चिम नेपाल   | २८ पुष २०८०, शनिबार ०९:५९

कालिकोट । कालिकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने तथा अधिग्रहण गरिएका जग्गामा रहेका घर, टहरालगायतका भौतिक संरचनाको क्षतिपूर्ति मुआब्जा वितरणमा हस्तक्षेप भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना अन्तर्गत पर्ने सान्नीत्रिवेणी गाउँपालिकाको वडा नम्बर १, २, ३, र ४, रास्कोट नगरपालिकाको ६,७, ८ र ९ पचालझरना गाउँ पालिकाको १, २, ८ र ९ भित्र पर्ने घर धनिहरुले मनपरी ढङ्गले घर टहराहरुको मुआब्जा वितरण गरेको भन्दै विरोध जनाएका हुन् ।

फुकोट हाइड्रोपावरको डुबानमा पर्ने पक्की घर र कच्ची घरहरूको मुआब्जा एकै दरमा दिएकाले आफूहरू विरोधमा उत्रिनुपरेको स्थानीय सान्ताकुमारी बराले बताइन्। उनले भनिन् ‘घरको मुआब्जामा राम्रोसँग मूल्यांकन नगरिएकोले हामीहरू असन्तुष्ट भएका हौँ। हाम्रो घरलाई फेरी मूल्यांकन गर्नुपर्छ ।’

उनी मात्र हैन फुकोट कर्णाली हाइड्रोपावरको डुबान क्षेत्रमा पर्ने जग्गाका घरधनीहरू सबै असन्तुष्ट छन् । उनीहरुले फेरी घर टहराहरुको मूल्यांकन गरी मुआब्जा दिनुपर्ने माग राखेका छन् ।