☰ open Loading... 18 May 2024|  

अनुदानको नुन पाँच वर्षदेखि अलपत्र
पश्चिम नेपाल   | २९ पुष २०८०, आईतवार ०५:२३

कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।

नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसके स्थानीयको भनाइ छ ।

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढाथापाले बताए । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उनको भनाइ थियो । साल्टटे«निङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्ने आशङ्का स्थानीयले गरेका उनले बताए ।

अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाँच वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिए ।

‘नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रुपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्’, उनले भने, ‘घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन्÷होइन भन्ने आशङ्काले अर्को ताला लगाइएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन् ।’

‘नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुनसमेत चोरी हुन थालेको छ । ढुवानी गरेर बाजुरा पु¥याइएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ’, नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भने । प्याकिङ भएको दुई वर्षभित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म कवाडीमा भेटिएको उक्त नुनको म्याद सकिएको उनले जानकारी दिए ।

रेग्मीले नुन दुई वर्षभित्र नुन प्रयोग गसिक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताए । उनले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दामा स्वास्थ्यमा असर पर्ने बताए ।