☰ open Loading... 3 March 2024|  

राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी
पश्चिम नेपाल   | ६ माघ २०८०, शनिबार ०८:०८

कालिकोटका राजबहादुर मल्ल सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा अध्ययन गर्दै थिए। त्यतिबेला उनी १७ वर्षका थिए। कालिकोटको पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।

पढाइमा अब्बल थियो। एसएलसीमा विद्यालय प्रथम भएपछि उच्च शिक्षा पढाउन छोरालाई सुर्खेत पठाएका थियौं,’ बुवा नन्दबहादुर मल्लले भने, ‘पढ्न पठाएको छोराको हत्या भयो। हत्यामा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन्।’ उनी १५ वर्षदेखि न्यायको खोजीमा भौंतारिरहेका छन्।

नन्दबहादुर र गोरीकलाका पाँच सन्तानमध्ये राजबहादुर साइँला छोरा थिए। उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरेका उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव भएपछि उनको राजनीतिक सक्रियता अझ बढेको थियो। स्ववियु सचिव हुँदा माओवादीनिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो। ‘गाउँमा आफूसँगै ६–७ कक्षा पढेर छाडेपछि माओवादी बनेकाहरू भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर विद्यालयमा उच्च शिक्षाका लागि भर्ना भएको विषयमा छोरा (राजबहादुर) र माओवादी कार्यकर्ताबीच विवाद थियो,’ बुवा नन्दबहादुरले भने, ‘त्यहीँ विवादले मेरो छोराको ज्यान लियो।’

छोराको हत्यापछि न्यायको खोजीमा नन्दबहादुर कालिकोटबाट धेरै पटक सुर्खेत धाए, प्रहरी र अदालतको ढोका ढकढक्याए। कर्तव्य ज्यान मुद्दामा नाम किटान गरिएकाहरू टेलिभिजनमा भाषण गरिरहेको देख्दा नन्दबहादुर र गोरीकलाका आँखाबाट आँसु बग्न थाल्छन्। ‘हत्या गर्नेहरू पनि चिनजानकै, गाउँठाउँकै हुन्। कोही टेलिभिजनमा देखिन्छन्, कोही बाटामा भेटिन्छन्,’ उनले भने, ‘राज्यले नै अपराधीहरूलाई संरक्षण गरेपछि हामी त ज्युँदै मरेजस्ता भएका छौं।’

छोराको हत्याको खबरपछि विक्षिप्त बनेकी गोरीकलालाई सम्झाउनुपर्ने भएपछि नन्दबहादुर सुर्खेत जान पाएनन्। उनले कान्छा भाइ नवराज मल्ललाई पठाए। नवराजले नै सुरुमा प्रारम्भिक जाहेरी दिएका हुन्। पोस्टमार्टमपछि छोराको शव कालिकोट पुग्यो। ‘उति बेला टाइगर भन्ने पदमबहादुर रावतले छोरालाई चक्कु हानेको हो भनेर प्रहरीले नै भनेको थियो,’ नन्दबहादुरले भने, ‘उनीसँगै दैलेखको चौराठाका पनि दुई जना केटाहरू थिए भन्ने सुनिएको हो, पहिचान खुल्न सकेन।’

नन्दबहादुरले छोराको हत्यामा माओवादीनिकट अखिल क्रान्तिकारीका हालका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता–कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिए। दैलेखका दुई जनाको पहिचान नखुलेकाले जाहेरीमा नाम नराखिएको उनको भनाइ छ। ‘छोराको हत्या गरेर टाइगर भन्ने पदमबहादुर रावत र दैलेखका दुई जना तत्कालीन माओवादी लडाकुको दशरथपुरस्थित छैटौं डिभिजनको क्याम्पमा लुकेका छन् भन्ने सूचना प्रहरीले नै दिएको थियो,’ उनले भने, ‘उतिबेला माओवादीको रजगज भएकाले प्रहरी पनि डराएकोजस्तो लाग्थ्यो।’

नन्दबहादुरका अनुसार छोरा राजबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गर्ने मुख्य अभियुक्त अहिले जाजरकोटमा छन्। ‘हत्यापछि केही समय माओवादीको तत्कालीन शिविर र भारतमा बसेको सूचना पाएका थियौं, अहिले जाजरकोटको ससुराली गाउँमा घर बनाएर बसेको भन्ने सुनेका छौं,’ उनले भने, ‘हामीलाई जानकारीमा आएका सूचनाहरू प्रहरीलाई दिँदा पनि कुनै कारबाही प्रक्रिया अघि बढ्दैन।

नन्दबहादुरले टाइगर भनिने पदमबहादुर रावतसहित अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रतिमा भन्ने पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन्। जिल्ला अदालत सुर्खेतले उनीहरूविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ।

आरोपी वीरबहादुर मल्ल नन्दबहादुरकै छिमेकी हुन्। उनी पहिलो स्थानीय तहको निर्वाचनमा खाडाचक्र नगरपालिका–९ बाट वडाध्यक्षका उम्मेदवार थिए। ‘भेट हुँदा वीरबहादुरले हत्यामा मेरो संलग्नता छैन भन्छ। देउताको कसम पनि खाएको छ,’ नन्दबहादुरले भने, ‘मुखले भनेर त हुँदैन होला नि है, प्रहरीले प्रमाण संकलन गर्ने होला। अदालतले प्रमाणका आधारमा फैसला गर्ला नि ?’ अशोक भन्ने अली कार्की गाउँमै शिक्षण पेसामा रहेको उनले बताए।

उनले धेरै पटक प्रहरी कार्यालय र अदालत धाउँदा कर्मचारीबाट रुखो जवाफ पाएको तितो अनुभव पनि सुनाए। ‘पटक–पटक प्रहरी कार्यालय धाएँ। पूरक जाहेरी मागे, त्यो पनि दिएँ,’ उनले भने, ‘प्रहरीले तपाईंको छोरालाई खुकुरी हान्ने टाइगर हो, ऊ फरार छ, पक्राउ प¥यो भने मुद्दा अगाडि बढाऔंला भन्ने जवाफ दिन्छन्।’ उनले जाहेरीमा उल्लेख भएका व्यक्तिहरू उच्च राजनीतिक पहुँचमा भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेर कारबाही अघि बढाउन खुट्टा कमाउने गरेको सुनाए।

हत्या गरिएका राजबहादुरकी आमा गोरीकला छोराको कुरा आउनेबित्तिकै रुन थाल्छिन्। ६२ वर्षीया गोरिकला छोराको हत्या गर्नेहरूले सजाय पाइदिए हुन्थ्यो भन्ने कामना गर्छिन्। ‘मुटुको टुक्रा गुमाउँदाको पीडा आमा–बुवालाई कति हुन्छ, त्यो पनि भनिरहन पर्ला र ?’ फोनमा गोरीकलाले भनिन्, ‘छोरालाई मार्ने र मार्न लगाउनेहरूले सजाय पाएको हेरेर मर्न पाए हुन्थ्यो।’

उनले छोराको हत्या भएको १५ वर्ष हुँदा पनि आफूहरूले न्याय नपाएको दुखेसो पोख्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताइन्। ‘हाम्रा लागि न्याय पनि सपनाजस्तै भएको छ,’ उनले भनिन्, ‘ठुलाले जतिसुकै अपराध गरे पनि सजायको भागीदार नहुनुपर्ने रहेछ।’ अहिले घरमा नन्दबहादुर र गोरीकला मात्रै छन्। जेठो छोरो ऐनबहादुर भारतमा मजदुरी गर्छन्। माइलो छोरा कमल डेंगुका कारण काठमाडौंको ओम अस्पतालमा आइसियुमा उपचाररत छन्। कान्छो गोगन काठमाडौंमा बिबिए अध्ययनरत छन् भने छोरी गमा स्टाफ नर्स अध्ययनरत छिन्।

-नागरिकन्यूजबाट