☰ open Loading... 3 May 2024|  

होमपाईपबाट भेरी नदिमाथि सवारी !
पश्चिम नेपाल   | ६ माघ २०८०, शनिबार १०:४६

भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदिमा होम पाइप राखेपछि सुर्खेत, नेपालगन्जदेखि डोल्पा सिधा सवारी साधन पुग्ने गरेका छन्।

रुकुम (पश्चिम) को छहरेवगर र जाजरकोटको सीमा तल्लुबगरस्थित भेरी नदीमा बेलिब्रिज लामो समयदेखि बन्न नसकेपछि वैकल्पिक रूपमा होम पाइप भेरीमा हालेर यातायात डोल्पा सिधा पुग्ने गरेको हो।

डोल्पामा विकास निर्माण गरिरहेका ठेकेदारहरूले आफ्नो सामान सहज लैजान सहज होस् भनेर वैकल्पिक रूपमा भेरी नदिमा पुल बनाएका हुन्। भेरीनदिमा होम पाइपको फड्को (पुल) बनाउन करिब ४० लाख खर्च भएको जनाइएको छ। भेरी पुल नबन्दा डोल्पा सिधा सवारीसाधन जान नसक्ने अवस्थामा अस्थाई रूपमा बनाइएको पुलले ठुलो काम गरेको डोल्पाली बताउँछन्। उनीहरू सरकारले खर्च गरेर स्थानीयसँग भेरी पार गरेको पैसा नसुल्न समेत माग गरेका छन्।

डोल्पामा विद्युतको ठेक्का लिएका व्यवसायीले आफ्ना सामान लैजानका लागि २० लाख बराबरको होम पाइप दिएको जनाइएको छ। अरू भएको लगानी उठाउन गाडीबाट शुल्क लिन थालिएको छ। सवारी त्यहाँबाट हिडेवापत बोलेरो जिपको पाँच हजार, मिनिट्रकको १० हजार र ठुलो ट्रकको १५ हजार उठाउने गरेको सवारी चालकहरू बताउँछन्। स्थानीय युवाहरूले गैर कानुनी रूपमा सवारी पास भएबापत चर्को शुल्क लिन थालेपछि जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर छलफल गरी शुल्क नउठाउन निर्देशन दिएको जनाइएको छ। डोल्पाका ६ वटा पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तारको जिम्मा लिएका बिभान्सु महिनावती जेभीका मेनेजर नरेन्द्र काफ्लेले होम पाइपको पुल निर्माणमा कम्पनीले २० लाख लगानी गरेको बताए।

सवारीबाट पैसा उठाउनु गैर कानुनी काम भएको र पैसा उठाएको उजुरी आए कारबाही गरिने डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। ‘शुक्रवार जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुगेर छलफल गर्नुभएको छ।’ डोल्पाका प्रमुख जिल्ला अधिकारी दाहालले भने, पैसा नउठाउने सहमति भएको छ। यदि कसैले सार्वजनिक स्थानमा (भेरी नदी पार गरेबापत) पैसा उठाएको उजुरी आए कारबाही हुन्छ।’