☰ open Loading... 17 July 2024|  

बलात्कार घटनाका कसूरदारलाई जन्मकैद
पश्चिम नेपाल   | ९ माघ २०८०, मंगलवार १९:५८

७ वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका ५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्ताई २५ वर्ष काराबाससंगै, ७ लाख रुपैंयाँ जरिवाना, १ लाख ५० हजार पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भएको हो ।

पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिए । पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेत स्थित घरबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते दैलेख अस्पतालमा गरिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले जेठ २६ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा जेठ २७ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । दैलेख जिल्ला अदालतको इजलासमा पीडित परिवारको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कणर्बहादुर महतले बहस गरेका थिए ।