☰ open Loading... 21 July 2024|  

कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली
पश्चिम नेपाल   | १२ माघ २०८०, शुक्रबार १३:५३

यो वर्ष कर्णालीमा लामो खडेरीले प्रायः सबै पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँसमेत उम्रिएन। आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउने चलन नै छैन। प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ बाली उम्रिएको छैन। गहुँ उम्रेर हरियाली हुने बेलासम्म बारीमा गहुँ नउम्रिँदा खेत बाँझैजस्तो देखिन्छ। पाखा जग्गामा माघ लाग्दासमेत गहुँ उम्रिंएको छैन।

‘कालिकोटका रास्कोट, शुभकालिका, तिलागुफालगायतका सिञ्चित क्षेत्रमा समेत गहुँ राम्रो हुन सकेको छैन भने आकाशेपानीका भरमा खेती हुने क्षेत्रमा कतै पनि गहुँ उम्रिएको छैन। ‘रास्कोटका अगुवा कृषक कविराज न्यौपानेले भने, ‘कालिकोटका अधिकांश क्षेत्रमा गहुँबालीको दुर्दशा नै रहेको देखियो।’

‘कालिकोटमा हिउँदमा खेत बाँझो राख्ने चलन बढी छ। त्यसैमा पनि यस वर्ष खडेरीले लगाएको गहुँबाली उम्रन पनि पाएको छैन’, उनले भने, ‘हिउँदेबाली गहुँ जउ छर्ने बेलामा पानी परेन। केही सिँचाइ हुने क्षेत्रमा गहुँ छरियो अहिले उम्रेको गहुँ पनि रुडोले खाइसक्यो। सुख्खा क्षेत्रमा त हिँउदे बाली छरेकै छैन। रोजगारीका लागि जिल्ला छाड्न हतार भएका यहाँका किसानले आकासे पानीको पर्खाइमा बसेनन्।

लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकाले अन्न खेर नफाल्न गरा बाँझो राखेको शान्नि त्रिवेणी गाउँपालिका ६ मेहलमुडीकी धना संज्यालले बताइन्।

‘यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन सुरु हुने भए। भोकमरीको समस्या बढ्ने भयो’, धनाले भनिन्। खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो छ। यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि ६ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ।

माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ। हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन्। जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुषारोले बाली खाएको छ। खडेरीका कारण केही किसानले खेतका गरा नै बाँझो राखेका छन्।

यस्तै रास्कोट नगरपालिका २ का किसान बिसहर न्यौपाने आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो सुनाए। जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ। यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्‍याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए। मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोवास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ। यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको उनले बताए।

हिउँदे बाली गहुँ छरेको मंसिरदेखि नै पानी परेको छैन। ‘माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो। हिमपात नहुनुले जौं, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,’ प्रमुख बस्नेत भने।

उनका अनुसार यहाँको तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा जौ, दुई हजार एक सय हेक्टरमा गहुँ र तीन हजार तीन सय हेक्टर जमिनमा स्याउबाली लगाइएको छ। सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौ र गहुँबाली नष्ट भएको छ।

पछिल्लो समय रोजगारीका लागि गाउँमा युवाको संख्या शून्य अवस्था छ। घरमा बुढापाका र बालबच्चाका भरमा चलेको गाउँमा कतिपय क्षेत्र अहिलेसम्म खेतियोग्य जमिन बाँझै रहेको पाइन्छ। बिना मलको खेतीमा उब्जनी पनी कम हुने र काम गर्ने मान्छे पनि नहुनाले यहाँका क्षेत्रमा खाद्य चामल किनेर खान्छन्। वर्षभरि खेती गरेर पाँच महिना पनि अन्न नपुग्ने गरेको दैलेखका नैन शाहीले बताए। कर्णालीका पहाडि जिल्लामा अहिलेसम्म पनी परेको छैन। पानी नपर्दा यो वर्ष भोकमरीले सताउन सक्ने जानकार बताउँछन्।