☰ open Loading... 30 April 2024|  

कैलास पर्वत र मानसरोवर अवलोकन गर्न नेपालगन्जबाटै माउन्टेन फ्लाइट
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार ०८:४३

मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्जले प्रशासनिक अधिकार गुमायो। तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालय सुर्खेत, बुटवल र दाङ सारिए।

सुर्खेत, बुटवल र दाङमा प्रशासनिक कामकाज भए पनि करोडौंका संरचना नेपालगन्जमा अलपत्र अवस्थामा छन्। यहाँबाट हुने प्रशासनिक काम अहिले प्रदेश मुकामबाटै हुने भएपछि नेपालगन्जले ठुलो क्षति भोग्नुपर्‍यो। यसले नेपालगन्जको प्रशासनिक मात्र होइन, आर्थिक रूपमा समेत प्रत्यक्ष प्रभाव पर्‍यो।

यसको प्रत्यक्ष प्रभाव अहिले बजारमा देखिएको छ। अहिले यसलाई मलम लगाउने एउटा सम्भावित ढोका खुलेको छ। त्यो हो, ‘माउन्टेन फ्लाइट’। यसले यहाँको प्रशासनिक अधिकार त पुनर्जागृत गराउने छैन तर जुन रूपमा आर्थिक क्षेत्रमा परेको प्रभाव थियो, त्यसलाई भने केही सम्बोधन गर्नेछ। दुई वर्षको निरन्तर प्रयासपछि मानसरोवर दर्शनका लागि नेपालगन्जबाट माउन्टेन फ्लाइटको सफल परीक्षण भएको छ। यो पश्चिम नेपालकै लागि सुखद पक्ष हो।

यसले यहाँको पर्यटन क्षेत्रमा केही आशा जगाएको उनको भनाइ छ। यो उडान परीक्षण सफल भएमा भारतीय पर्यटकहरू मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट गर्न आउने उनी बताउँछन्। मानसरोवर विश्वका हिन्दुको गन्तव्य भएको भन्दै त्यहाँ पुग्न विश्वको सबैभन्दा छोटो रुट नेपालगन्ज भएको उनले बताए।

‘यसभन्दा पहिला पनि महँगो शुल्क तिरेर मान्छे जानेआउने गर्थे,’ उनी भन्छन्, ‘त्यो व्यावसायिक थिएन।’

सिजनको समयमा सयौं भारतीय धार्मिक पर्यटकहरू मानसरोवर पुग्ने गर्छन्। नेपालगन्जबाट हुम्लाको सिमकोट यात्रापछि उनीहरू मानसरोवरसम्म स्थलमार्ग हुँदै पुग्छन्।

यसले भारतीयसँगै विश्वका धार्मिक पर्यटकका लागि सजिलो हुने र यहाँको पर्यटन व्यवसायमा थप मद्दत पुग्ने उनी बताउँछन्। ‘परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘अब यसलाई नियमित माउन्टेन उडान गर्नुपर्छ।’

नेपालगन्जबाट एक घण्टा १५ मिनेटमा मानसरोवरको दर्शन गरेर फर्किन सकिनेछ। यसले यहाँको एउटा सम्भावना प्रारम्भ भएको छ। यसलाई एयरलाइन्स र यहाँका व्यवसायीले निरन्तरता दिन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन्।

पूर्वी नेपालमा भने यसभन्दा अघिदेखि नै व्यावसायिक माउन्टेन फ्लाइट हुँदै आएका छन्। यहाँ पर्यटकको रुचि धेरै छ। नजिकैबाट हिमालको अवलोकन गर्न सकिने हुँदा माउन्टेन फ्लाइट पर्यटकका लागि आकर्षक हुन्छ।

पश्चिममा पनि विश्वकै पवित्र धार्मिकस्थल कैलास पर्वत र मानसरोवरसँगै कैयौं हिमाली दृश्य अवलोकन गर्न पाइने हुँदा नेपालगन्जबाट हुने माउन्टेन फ्लाइट आवश्यक छ।

एकदमै नजिकबाट एकैपटकमा चीनको तिब्बतस्थित कैलास पर्वत र मानसरोवर दर्शन देख्न सकिने पर्यटन व्यवसायी केशव न्यौपानेले जनाए। कोभिड–१९ पछि र आर्थिक संकटको अवस्थालाई सुधार गर्ने अपेक्षा गरिएको छ।

सोमबार गरिएको पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको उनको भनाइ छ। उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य र राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालकदलका पाँचजना सदस्यसहित उडान भरिएको थियो।

आगामी दिनमा नेपालगन्जबाट कैलास तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंस्थित पशुपतिको समेत दर्शन गराउने योजना रहेको उनको भनाइ छ।