☰ open Loading... 17 May 2024|  

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात
पश्चिम नेपाल   | १८ माघ २०८०, बिहीबार ०९:३२

आज बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई मधेशका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राति कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।