☰ open Loading... 2 May 2024|  

जीबी राईका साझेदार जोशीको घरमा छापा
पश्चिम नेपाल   | २५ माघ २०८०, बिहीबार ०९:३९

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सम्पूर्ण कारोबार यहीं (काठमाडौं) बाटै हुने गरेको रहेछ । त्यसको सफ्टवेयरसमेत यहीं रहेछ, पोखरामा कार्यालय र केही सामान्य कागजात मात्रै रहेछन्,’ प्रहरी अधिकारीहरूले भने, ‘यहाँ रहेका विवरण तथा सफ्टवेयरहरू नियन्त्रणमा लिइदिनू भनेर कास्की प्रहरीले अनुरोध गरेको थियो । केही विवरण नियन्त्रणमा लिएका छौं ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी उनी बाहिरिएका हुन् ।

जोशीको घरमा हालसम्म जीबी राईसम्बद्ध कम्पनी र सूर्यदर्शन सहकारीका कागजात तथा कम्प्युटर फेला परेका हुन् । उनको घरमा नेचर हर्ब प्रालिको कार्यालयसमेत छ । यही कार्यालयबाट सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ । ‘सूर्यदर्शन सहकारीको अनुसन्धान सुरु गरेपछि त्यससँग सम्बन्धित दस्ताबेज तथा कम्प्युटर उपकरणहरू लुकाईछिपाई राखिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले बुधबार दिउँसो अप्रेसन गरी ४ कम्प्युटरका हार्डड्राइभ नियन्त्रणमा लिएका हौं । ती हार्डड्राइभमा सहकारीको कारोबार हुने सफ्टवेयर फेला परेको छ ।’

नियन्त्रणमा लिइएका उक्त सामग्री लिनका लागि बुधबार नै कास्की प्रहरीको टोली काठमाडौं आइसकेको छ । ‘सहकारीको रकम हिनामिना गर्नेमाथि छानबिन हुनुपर्‍यो भनेर उजुरी दर्ता भएपछि कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत हिनामिनाको विषयको अनुसन्धानलाई तीव्रता दिएको छ,’ कास्की प्रहरी स्रोतले भन्यो, ‘उजुरी परेका र ऋण प्रवाह भएका व्यक्तिहरूमाथि हामीले अनुसन्धान केन्द्रित गरेका छौं ।’ पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन् ।

जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जसमा चार जना पक्राउ परेका छन्, बाँकी फरार छन् । फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ ।

ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुनः अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिले जनाएको छ । पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।