☰ open Loading... 15 October 2024|  

दोस्रो एकदिवसीय: क्यानडाविरुद्ध नेपाल ४ विकेटले विजयी
पश्चिम नेपाल   | २७ माघ २०८०, शनिबार १८:३०

नेपालले क्यानडाविरूद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ। क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्ने निर्णय गर्‍यो। क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए।

उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे। यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए। उनले त्यसक्रममा दुई छक्का र सात चौका हाने। यसैगरी अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिए। भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए।

बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो। क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे। उनले ६२ बलमा १० चौका र दुई छक्का हाने।

यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो। नेपालले क्यानडासँग पहिलो पटक एक दिवसीय सिरिज खेलेको हो।