☰ open Loading... 17 July 2024|  

वीरेन्द्रनगरका कर्मचारीद्वारा राजश्व रकम अपचलन
पश्चिम नेपाल   | २ फाल्गुन २०८०, बुधबार १३:०५

वीरेन्द्रनगर नगरपालिका कार्यालयको राजश्व शाखामा कार्यरत कर्मचारीद्वारा राजश्व रकम अपचलन भएको आरोप लागेको छ । ठेक्का आह्वान हुँदा कम्पनीहरुले तिरेको धरौटी रकम ती कर्मचारीले कार्यालयमा आम्दानी नबाँधी व्यक्तिगत अपचलन गरेका हुन् ।

नगरपालिका कार्यालयले २०८० साउन ९ गते जडिबुटी कबाडीजन्य मालसमान तथा जीवजन्तुको अवशेषाङ्गको व्यवसायिक उपयोग शुल्क उठाउने सम्बन्धी टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा सात वटा नीजि कम्पनीले प्रतिस्पर्धामा भाग लिए । उनिहरुले कबोल अङ्कको २.५ प्रतिशत हुन आउने रकम धरौटी जम्मा गरे । उतिबेला बढाबढको बोलकबोलबाट ‘मान्यता निर्माण सेवा’ छनोटमा प¥यो । कम्पनीले ९५ लाख रुपैँया बुझाउने गरी ठेक्का पेस गरेको थियो । त्यस अनुसार सो कम्पनीले दुई लाख ५० हजार रुपैँया धरौटी जम्मा गरेको थियो । तर, प्रतिस्पर्धामा पहिलो भएको कम्पनीसँग सम्झौता हुन सकेन ।

पहिलो कम्पनीको ठेक्का सम्झौता हुननसकेपछि दोस्रो कम्पनीसँग सम्झौता गर्नुपर्ने थियो । दोस्रोमा सबैभन्दा बढी ७० लाख बुझाउने गरी ए.के. कबाड कलेक्सनले ठेक्का पेस गरेको थियो । तर, नगरपालिकाको २०८० मंसिर २४ गतेको कार्यपालिका बैठकले ठेक्का बदर गर्ने निर्णय ग¥यो । धरौटी रकम सम्बन्धी संघीय कानून र नगरपालिकाको कानून बाँझिदा ठेक्का रद्द गर्नुपरेको जनाइएको छ ।

ठेक्का रद्द भईसकेपछि उक्त ठेक्का वापत राखिएको धरौटी रकम फिर्ता गर्नुपर्ने हो । तर, लामो समय बितिसक्दा समेत व्यवसायीले फिर्ता पाउन सकेका छैनन् ।

ठेक्का पेश गर्दा जम्मा गरिएको धरौटी रकम राजश्व शाखा प्रमुख टंकप्रसाद लामिछानेले अपचलन गरेको ठेक्का पेशकर्ता व्यवसायीको आरोप छ । ‘हामीले ब्याजमा पैसा निकालेर धरौटी हालेका थियौं । पाँच महिना पुग्दा समेत फिर्ता पाइएको छैन ।’ ती व्यवसायीले भने, ‘यसरी पैसा एकै ठाउँमा रोकिएर हामीलाई अप्ठ्यारो भईरहेको छ । लेखा शाखामा धरौटी फिर्ता माग्दा आम्दानी नै बाँधिएको छैन । समय लाग्छ भनेर फर्काउछन् ।’

उता, शाखा प्रमुख लामिछाने आजका मितिसम्म नगरपालिकाको आम्दानी नबाँधिएको स्वीकार गर्छन् । ‘आम्दानी स्रोतमा दाखिला गर्न बिर्सिएछ । गरेपछि त एकछिनको काम हो तर, भुलिएछ ।’ उनले भने, ‘उहाँहरुको नगद पैसा हालेको भएर पनि उही दिन बैंक खातामा जम्मा हुन नसकेको हो ।’ उनले यति समयमै गर्छु भन्ने कुरा अझै खुलाएका छैनन् ।

कार्यालयको आम्दानी र खर्च सम्बन्धी जिम्मेवार कार्यालय प्रमुख र लेखा प्रमुख समेत बेखबर छन् । उनिहरु आम्दानी बाँधिएको वा नबाँधिएको कुरामा प्रष्ट छैनन् । लेखा प्रमुख हरिबहादुर क्षेत्री भन्छन्–‘राजश्व शाखा प्रमुखको फाइलमा होला । हामीकहाँ आएको कुरा थाहा भएन ।’