☰ open Loading... 13 December 2024|  

दादुरा र रुबेलाविरुद्धको खोप लगाइँदै
पश्चिम नेपाल   | ६ फाल्गुन २०८०, आईतवार ०५:३१

कालीकोट : कालीकोटका १७ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइँदै छ । ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटले जानकारी दिएको छ ।

 

फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरण र १७ गतेदेखि १९ गतेसम्म दोस्रो चरण गरी २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जिल्लाको खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ भने दोस्रो चरणमा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

 

खोप अभियान सञ्चालनका लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २७ वटाभन्दा बढी खोप केन्द्र तोकिएको छ । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य सेवा कार्यलय कालीकोटले पनि आवश्यक तयारी थालेको निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर संकेत विश्वकर्माले बताए ।

 

बालबालिकाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्छन् । यो सबैभन्दा बढी संक्रमक रोग हो । यो रोग लागेमा एक जना बिरामीले धेरै जनालाई सार्न सक्ने भएकाले खोप अभियान सञ्चालन गर्दा प्रभावकारी हुने डा. विश्वकर्माको भनाइ छ ।