☰ open Loading... 20 June 2024|  

पालिका प्रमुखलाई भलिबलको माला !
पश्चिम नेपाल   | ८ फाल्गुन २०८०, मंगलवार ०५:२३

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने कर्णालीका दश स्थानीय तहका प्रमुखहरुलाई भलिबलको माला लगाएर सम्मान गरेको छ।

सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा दश जिल्लाका दश स्थानीय तह प्रमुखलाई दश भलिबलको माला लगाएर सम्मान गरिएको हो।

१० वटै पालिका प्रमुखहरुलाई मुख्यमन्त्री राजकुमार शर्माले सम्मान गरेका थिए। परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालका अनुसार दैलेखको ठाँटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानीभेरी नगरपालिका, जुम्लाको तातापानी गाउँपालिका, कालिकोटको तिलागुफा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, मुगुको सोरु गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकालाई सम्मान गरिएको हो।

‘जिल्ला खेलकुद विकास समितिको सिफारिसका आधारमा खेलकुदका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पालिकालाई सम्मान गरिएको हो,’ उनले भने, ‘यस्ता कार्यले आगामी दिनहरुमा अरु पालिकाहरुलाई पनि प्रेरणा मिल्ने अपेक्षा हामीले लिएका छौं।’