☰ open Loading... 17 May 2024|  

बालिका चोरीको आरोपमा दैलेखकी मनकुमारी सिंह पक्राउ
पश्चिम नेपाल   | १२ फाल्गुन २०८०, शनिबार १०:११

थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको आरोपमा प्रहरीले दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंहसँगै कोठाबाट अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले जानकारी दिए ।

शुक्रबार राति ११:४५ बजे प्रहरीको टोलीले काँडाघारीस्थित कोठामा पुगेर बालिकालाई उद्धार गरेको थियो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि सिंहले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेको बताइएको छ। बालिका लिएर गएपछि सिंहले छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ ।

सिंहका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।