☰ open Loading... 2 May 2024|  

हिउँले अवरूद्ध नाग्म-गमगढी सडक खुल्यो
पश्चिम नेपाल   | १२ फाल्गुन २०८०, शनिबार १०:१८

नाग्म–गमगढी सडक खण्डमा जमेको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाले बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेकको सडक खण्डमा जमेको हिउँ पन्छाएर सडक सुचारु गरेको हो।

गत मंगलबार, बिहीबार र बुधबार हिमपात हुँदा गमगढी–नाग्मा सडक अवरुद्ध भएको थियो। सवारी साधन चल्न सकेका थिएनन्। बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षक लगाएर हिउँ पन्छाएको सुपरभाइजर जग्गी बिकले बताए।

उनका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ। उच्च हिमाली क्षेत्र रहेको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको यो सडक खन्डमा हिउँदमा हिउँ र बर्खामा पानीले पहिरो र रुख ढलेर अवरुद्ध हुन थालेपछि सडक डिभिजन कार्यालयले सडक रक्षक र स्काभेटरको व्यवस्था गर्दै आएको छ।

हिउँद र बर्खामा २/३ महिना अवरुद्ध हुने यो सडक २ वर्षयता नियमित रुपमा सञचालन हुँदै आएको छ। एक दशकअघि नेपाली सेनाले निर्माण गरी सञ्चालनमा आएको यो सडक अझै कालोपत्र हुन सकेको छैन।

प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटकको स्थलमार्ग भएकाले यातायात साधनले यो खण्ड व्यस्त हुने गर्दछ। जुम्लाको चन्दननाथ हुँदै रारा आउने पर्यटकलाई सास्ती नहोस् भनेर सडक विस्तार तथा स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको विक बताउँछन्। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको दुरी ९३ किमि रहेको छ।