☰ open Loading... 2 May 2024|  

गाउँमै धमाधम योजना सम्झौता
पश्चिम नेपाल   | १८ फाल्गुन २०८०, शुक्रबार ११:०१

जुम्लाको तिला गाउँपालिका–९ रासागाउँका डिल्ली बुढालाई गाउँपालिका आउन र जान मात्रै सात घण्टा लाग्थ्यो। अब कुनै पनि योजना सम्झौता गर्न उनलाई यसपटक भने पालिका धाउनुपरेन्। उपभोक्ता समिति बनाएर योजना सम्झौता गर्न कार्यालय जानुपर्छ। तर, योजना सम्झौता गर्ने भन्दै यस पटक कर्मचारी नै घरआँगनमा आइपुगे।

‘कर्मचारी नै गाउँमा आउँदा खुसी लाग्यो। गाउँपालिका गएमा काम भ्याएर आउँदा ३ दिन लाग्थ्यो। कर्मचारी आएपछि ३ घण्टा पनि लागेन,’ उनले भने। यसअघि योजना सम्झौता गर्न जाँदा ४/५ दिनसम्म लाग्थ्यो।

तिला  ८ जुम्लाकोट गाउँकी सरस्वती बस्नेतलाई गाउँपालिका कार्यालयमा योजना सम्झौता गर्न जाँदा गाउँसम्म ४ घण्टा हिंडेर  जानुपर्थ्यो। कर्मचारी गाउँ आएपछि समय र खर्चको बचत भएको उनले बताइन्।

‘योजना सम्झौता जानेआउने गर्दा २/३ दिन लाग्थ्यो। कर्मचारी नै आएपछि सजिलो भयो,’ उनले भनिन्। गाउँदेखि  कार्यालयतिर कच्ची सडक पुगे पनि उकालो र ओरालो हिंडेर  गाउँपालिकासम्म पुग्न पनि निकै समस्या पर्ने उनको भनाइ छ। गाउँपालिकाबाट कर्मचारी आएर वडाभित्र अहिले धमाधम योजना सम्झौता गर्ने काम भइरहेको छ। ‘वडाबाट योजना सम्झौता गर्न अध्यक्ष, सचिव, कोषाध्यक्ष जानुपर्थ्यो। कर्मचारी नै गाउँ आएपछि गाउँलेलाई सुविधा पुग्यो। उपभोक्ताको समय र पैसाको बचत भयो,’ उनले भनिन्।

गाउँपालिका कार्यालय जानेआउने गर्नुपर्ने बाध्यता टरेको छ। योजना सम्झौता गर्न उपभोक्ता गाउँपालिकामै आउनुपर्ने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढा थापाको भनाइ छ। तर, गाउँपालिकाले वडा तहमै पुगेर योजना सम्झौता गरेको छ। गाउँबाट योजना सम्झौताका लागि कर्मचारी खोज्दै आउनुपर्ने बाध्यता तिलामा हुने छैन। प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र ओभरसियर खटिन्छन्।

वडामा वडाअध्यक्ष, सबै वडा सदस्य, वडाको ओभरसियर साथमा उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत जम्मा हुन्छन्। योजना सम्झौता हुन्छ ।

उक्त गाउँपालिकामा ९ वडा र ३२ गाउँ छन्। उनले भने, ‘हामीले गाउँमै पुगेर योजना सम्झौता गरेका छौं। उपभोक्ता गाउँपालिकामा आउँदा कहिलेकाहीं कागजपत्र छुटे दोहोरो दुःख पाइने गरेको प्रमुख प्रशासकीय अधिकृत बुढा थापा बताउँछन्। ‘हामी गाउँमै पुगेपछि अध्यक्ष, वडा सचिव सबै गाउँमै हुन्छन्। त्यसपछि कुनकुन कागजपत्र चाहिने हो, ठाउँको ठाउँ बन्यो। उपभोक्तालाई पनि सजिलो।’

कर्मचारीले स्थानीयलाई योजनाबारे जानकारी गराउने, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिने गरेका छन्। उपभोक्तालाई दुःख नदिन कर्मचारीलाई गाउँमै खटाइने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।

चालु आर्थिक वर्षमा छनौट भएका योजनाको सम्झौता गरिएको हो। ‘हामीले सकेसम्म गाउँलेले दुःख नपाऊन् भनेर काम गरिरहेका छौं,’ उनले भने।

उपभोक्ता समिति गठन, बैठक, निर्णय, उनीहरूका कागजातपत्र लगायत बटुलेर कार्यालयसम्म आउँदा केही न केही कागजपत्र छुट्न सक्छ। योजना सम्झौताका लागि सबैजना एकै पटक कार्यालय जाने समय नजुर्न सक्छ। कार्यालय आउजाउ गर्दा उपभोक्ताले व्यक्तिगत रकम खर्च गर्नुपर्छ।

अहिले गाउँपालिकाको-३ वडाबाट योजना सम्झौता चलिरहेको छ। त्यसपछि क्रमश सबै वडामा पुग्नेछौं।

यता तिला-९ ढिपु गाउँका युवा समीर बोहोराले भन्ने, ‘यसले योजना छनोट, बजेट विनियोजनदेखि कार्यान्वयनसम्म सहज हुनेछ,’ गाउँपालिकाले लिएको नीति, कार्यक्रम र बजेटबारे गाउँमै पारदर्शी रुपमा भनिएको बताए। ‘योजना सम्झौतासँगै स्थानीयलाई भेला गर्ने, योजनाको बारेमा जानकारी गराउने, उपभोक्ता समितिको काम कारबाहीबारे जानकारी पाउँदा खुसी छौं,’ उनले भने।