☰ open Loading... 14 April 2024|  

खेत–खलियानको बिचमा साढे तीन करोडको पुल!
पश्चिम नेपाल   | २० फाल्गुन २०८०, आईतवार ११:२८

राजनीतिक पहुँच र शक्तिमा रमाउनेहरू आफ्ना आवश्यकतालाई आम नागरिकको आवश्यकतासँग जबरजस्ती जोडेर विकास निर्माणका काम गरिरहेका हुन्छन्। सरकारी बजेटको चरम दुरुपयोग गरेर आफू अनुकूलका विकास निर्माण नेपालमा पटक–पटक भइरहेकै छन्। र, यस्ता उदाहरण बेला–बेलामा बाहिर आइरहेकै छन्।

त्यस्तै उदाहरण बर्दियाको एउटा भौतिक संरचनाबाट पुष्टि हुन्छ। त्यो हो, खेत र खलियानको बिचमा बनेको एउटा पक्की पुल।

बर्दियाको सदरमुकाम गुलरिया बजारदेखि १९ किलोमिटर पूर्व र बाँके नेपालगन्जदेखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक एउटा पुल बनेको छ। यो पुल आम आवश्यकता हो की राजनीतिक पहुँच र शक्तिको विम्ब हो झट्ट हेर्दा छुट्टाउन गाह्रो होला, तर बुझ्दै जाँदा यो पहुँचको पहुँच र शक्तिको

निकासै नभएको अढाई सय मिटर बाटोको बिचमा पक्की पुल छ। यो बाटोको दुबैतिर कुनै निकास छैन। त्यो बाटो र पुल खेत खलियानमा बनाएको प्रस्ट देखिन्छ। यो पुलले नेपालको विकास निर्माणमा हुने चरम लापरबाही र अनियमितता झल्काउँछ।

बढैयाताल गाउँपालिका–६ मा बनेको पुरानो चल्ती बाटाेकाे पुरानाे पुल। 

बढैयाताल गाउँपालिका–६ मा ५० मिटरमा दुरीमा यस्ता दुई वटा पक्की पुल छन्। त्यसमध्ये नयाँ पुल खेत र खलियान जोड्न बनाइएको छ। अहिलेसम्म त्यो पुलको परीक्षण पनि भएको छैन। यसको पचास मिटर दुरीमा रहेको चार लेन सडकमा अर्को पक्की पुल छ जुन नामको मात्र पक्की छ। त्यो पनि जीर्ण छ। जीर्ण पुलको ५० मिटर उत्तर तर्फ रहेको चपला खोलामा नयाँ पुल बनाइएको हो ।

यो पुल निर्माणमा राज्यको ढुकुटी राम्ररी दोहन भएको पुष्टि हुन्छ।  यो पुल बर्दियाको बनगाईमा कार्यालय रहेको बबई सिँचाई आयोजनाले बनाएको हो। यसको लागत साढे तीन करोड रुपैयाँ रहेको जानकारी दिइएको छ।

खेत खलियान जोड्न बनाइएको विकासले आम नेपालीलाई गिज्जाईरहेको आभास यहाँ आउने जो कोहीलाई पनि हुन्छ। अहिलेसम्म यसको आवश्यकता र उपयोगिता समेत पुष्टि भएको छैन।

पुजनतलिया जाने बाटोको उत्तर पश्चिम जान यो पुल बनाइएको छ। उक्त पुल यस्तो ठाउँमा छ कि यसले केही व्यक्तिको जग्गालाई छोएको छ भने पुल हुँदै आवागमन गर्ने सडकको निकास खुलेको छैन। अधिकांश स्थानीय पुल किन र के का लागि बनाइएको  भन्नेबारेमा समेत अनभिज्ञ छन्।

पुल बनिसकेपछि मात्र स्थानीयहरूले प्रश्न गर्न थालेका छन्। उनीहरू भन्छन्, ‘पुलको बजेट किन विनियोजन गरियो? यहाँ बजेट कसले पार्‍यो? किन यहाँ पुल बनाइयो? प्राविधिकले उक्त ठाउँमा पुल बनाउने ठहर कसरी ग¥यो? भन्ने जस्ता प्रश्नको उत्तर स्थानीय खोजिरहेका छन्।

पुल बनेको लामो समय पुग्दा पनि त्यस पुलबाट कसलाई प्रत्यक्ष लाभ भइरहेकोमा समेत स्थानीय अनभिज्ञ छन्। यस्तो विकासले ठाउँलाई मात्र हैन जिल्लाकै बेहीजत गरिरहेको स्थानीय गुनासो गर्छन्।

पुरानाे पुलदेखि करिब ५० मिटर दुरीमा रहेकाे देखिएकाे चल्तीमा नअाएकाे नयाँ पुल।

‘पुजनतलिया जाने बाटोका उत्तर पश्चिममा बनेको पुलमा किन बजेट खर्च गरियो?’, स्थानीय रामु भाटले भने, ‘यही बजेटले अति आवश्यक ठाउँमा आधा दर्जन पुल बन्थ्यो।’

उक्त सडक खण्ड जोड्नका लागि बढैयाताल नगरपालिकाले करिब २ सय ५० मिटर ग्राभेल सडकमा लगानी गरिरहेको छ। सडक खण्डको विषयमा नाप जाँचमा विवाद हुँदा उक्त सडकमा गाउँपालिकाले लगानी गरेको लगानी समेत खेर गएको छ।

‘किन बन्यो, कसको कारणले त्यहाँ पुल बन्यो, हामीलाई थाहा भएन’, नाम नखोल्ने सर्तमा एक जनप्रतिनिधिले भने, ‘पुल बनेपछि सडकलाई निकास दिन खोज्दा नाप जाँचको विवाद निकालेर सडकले पूर्णता पाउन सकेन।’

सडकको दोहोरो निकास निकाल्न खोज्दा त्यसमा स्थानीय ईन्सान नाउँ नाम गरेको व्यक्तिको  घर परेपछि त्यो सडक अधुरै रह्यो। कसैको स्वार्थमा खेत खलियान जोड्न बनाइने पुलले निराशा भित्राएको उनको तर्क छ ।

उक्त क्षेत्र बर्दियाको निर्वाचन क्षेत्र १ मा पर्दछ। लामो समय नेता बामदेव गौतमको गृह क्षेत्रको रूपमा बढैयाताल–६ मैनापोखर चिनिएको थियो। पछिल्लो समय उक्त निर्वाचन क्षेत्रमा तत्कालीन एमालेका उपाध्यक्ष बामदेवलाई पराजित गरी लगातार दुई पटक संजय गौतमले जितेका छन्।

बबई सिचाइको आयोजना प्रमुख सुशील देवकोटाले अघिल्ला बर्सहरूमा पुल निर्माणको काम भएकाले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताए।

‘म नयाँ हो, अघिल्ला वर्षको काम भएकाले स्थलगत नहेरेर आधिकारिक भन्न सक्दिन’, उनले भने, ‘काठमाडौँ भएकाले कार्यालय फर्केर मात्र जानकारी दिन सक्छु।’