☰ open Loading... 21 April 2024|  

तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !
पश्चिम नेपाल   | २ चैत्र २०८०, शुक्रबार ०७:२५

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीहरुलाई पानी खुवाउनै सकस भयो। अनि नेपाल भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलावासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु पर्‍यो।

पानीको अभाव भएपछि एक हप्ता सम्म विद्यालय नै बन्द गर्नुपरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने ‘खोलामा पानी सुकेपछि बालबालिकाहरूलाई पानी खुवाउनै नसकिने अवस्था बन्यो, अनि विद्यालय नै बन्द गरेर बस्यौँ।’

एक हप्ता पछि गढवागाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याइदियो। अनि पालिकाले ट्यांकरबाट पानी पुर्‍याइदिएपछि बल्ल विद्यालय खोलियो। ‘गाउँपालिकाले ट्यांकरबाट पानी पुर्‍याएपछि एक हप्ता पछि विद्यालय खोलेका हौँ,’ विद्यालयका प्रधानाध्यापक वलीले भने ‘यहाँ त विद्यार्थीहरुलाई पानीको व्यवस्थापन गर्न निकै असहज अवस्था छ।’

यस वर्षको सुख्खा याम फेरी सुरु भइसकेको छ। खोलामा रहेको पानी सुक्दै जान थालिसकेको छ। विद्यालयलाई फेरी उही पिरलो सुरु भइसकेको छ। विद्यालयका प्रधानाध्यापक वलीका अनुसार खोलामा रहेको पानी मोटरबाट तानेर गाउँमा वितरण भएको छ। तर सुख्खा मौसम सुरु भएपछि पानीका लागि गरिएको यो व्यवस्थापन पनि बेकामे बनिदिन्छ।

खोला सुख्खा बन्दा पानीको चरम समस्या झेल्नु पर्ने यो विद्यालयले भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्रमा जडान गरेको धाराको पानी प्रयोग गर्दै आइरहेको थियो। उसको ब्यारेक बाहिर जडान गरिएको धाराको पानी बोकेर विद्यार्थीलाई खुवाउँदै आइएको थियो। तर एसएसबीले त्यो धारा हटाइदिएको छ।

‘खोलाको पानी सुक्यो भने एसएसबीको धाराको पानी खुवाउँथ्यौँ, एसएसबीले पानी लिन दिन्थ्यो पनि,’ विद्यालयका प्रधानाध्यापक वलीले भन्छन् ‘तर उसको ब्यारेक बाहिर जडान गरिएको धारा हटाइदियो, अनि पानीका लागि झनै समस्या हुन थाल्यो।’

एसएसबीले धारा फालिदिएपछि विद्यालयले भारतको जरुवा भन्ने स्थानबाट बोकेर पनि पानी खुवाउन थाल्यो। मोटरसाइकल मार्फत ग्यालेनबाट पानी बोकेर खुवाउन सम्भव भएन। अनि विद्यालय बन्द गरेरै बस्नु पर्ने बाध्यता आएको विद्यालयका प्रधानाध्यापक वलीले बताए।

‘भारतको जरुवा भन्ने स्थानमा मोटरसाइकल मार्फत ग्यालेनमा पानी ओसारेर पनि खुवाउने कोसिस गर्‍यौँ,’ उनले भने ‘तर यो सम्भव भएन, अनि विद्यालय बन्द गरेर बस्नु पर्‍यो।’

यस वर्ष पनि गाउँपालिकाले ट्यांकरबाट पानीको व्यवस्थापन नगरिदिए विद्यालय बन्द गरेर बस्नु पर्ने बाध्यता आउने उनको भनाई छ। ‘अबको केही दिन पछि खोलाको पानी सुकिहाल्छ, पालिकाले गत वर्ष जस्तै ट्यांकरबाट पानी पुर्‍याइदिएन भने त फेरी विद्यालय बन्द गरेर बस्नुको अर्को विकल्प हुँदैन,’ उनले भने ‘हामीले पालिकालाई यो समस्याका बारेमा जानकारी गराउँदै आएका छौँ, पालिकाले पानी पुर्‍याइदिन्छ पक्कै पनि।’

खोलाको पानी मोटर मार्फत तानेर विद्यालयमा पुराइएको छ। खोलाबाट सिधै पाइप मार्फत पुर्‍याएको पानी विद्यालयले शुद्धीकरण गरेर विद्यार्थीहरुलाई खुवाउने गरेको छ। ‘विद्यालयमा पानी शुद्धीकरण गर्ने मेशिन छ, हामीले पानी शुद्धीकरण गरेर विद्यालयलाई खुवाउँछौँ, र हामी शिक्षकहरूले पनि खान्छौँ,’ विद्यालयका प्रधानाध्यापक वलीले भने। यो विद्यालयमा झण्ड एक सय विद्यार्थी छन्।

नाका क्षेत्रमा रहेका विद्यालयहरूले साना बालबालिकाहरुलाई समेत खोलाको दूषित पानी खुवाउनु पर्ने बाध्यता छ। खोलाको फोहर पानीकै कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी समेत पर्ने गरेको शिक्षकहरु बताउँछन्।

गढवाको खबरी नाकामा रहेको दुर्गा प्राविका प्रधानाध्यापक कृपानन्द चौधरी भन्छन् ‘खोलाको फोहर पानी नै खानु पर्ने र विद्यार्थीहरुलाई खुवाउनु पर्छ, विद्यार्थी मात्रै हैन हामी शिक्षकहरुमा पनि स्वास्थ्य समस्या आइरहन्छन्, फोहर पानीका रुघा खोकी लगायतका समस्याहरू आउँछन्।’

विद्यालयमा पानी शुद्धीकरण गर्ने मेशिन पनि छ। तर विद्यालयसम्म पानी पुग्न सकेकै छैन। फलतः विद्यार्थीहरुले खोलाबाट आउने फोहर पानी पिउनु पर्ने बाध्यता छ।

‘पाइपबाट बस्तीमा पानी ल्याइएको छ, तर हामीसँग पाइप खरिद गर्ने पैसा नभएर विद्यालयमा पानी तान्न सकिएको छैन,’ यो विद्यालयका प्रधानाध्यापक चौधरीले भने ‘पानी शुद्धीकरण गर्ने मेशिन त छ , तर मेशिन प्रयोग विहीनकै अवस्थामा छ।’ सानो बस्ती रहेको यो नाकाको विद्यालयमा २२ जना विद्यार्थी छन्।

राजपुर गाउँपालिका, स्याउले नाका स्थित ज्ञानकुन्ज प्राविका निमित्त प्रधानाध्यापक रामबहादुर विकलाई पनि सुख्खा यामको पिरलो सुरु भइसकेको छ। विद्यालय देखि नजिकै रहेको खोलाको पानीले अहिले सम्म विद्यार्थीहरुले तिर्खा मेटिरहेका छन्। तर यो खोला पानी सुक्दै जान थालिसकेको छ।

‘अब खोलाको पानी सुकिहाल्छ, विद्यार्थीहरुलाई पानी खुवाउन धेरै समस्या हुन्छ,’ निमित्त प्रधानाध्यापक विकले भने ‘हाम्रो विद्यालयमा सबै भन्दा ठूलो समस्या भनेको खाने पानीकै हो।’

विद्यालय नजिकैको यो खोला सुक्नासाथ पानी बोक्नका लागि एक घण्टा तल झर्नु पर्छ। ‘हाम्रो विद्यालय डाँडोमा छ, अब पानी ल्याउन एक घण्टा तल अर्को खोलामा झर्नु पर्छ,’ उनले भने ‘विद्यालयका कार्यालय सहयोगी मार्फत पानी बोकेर विद्यार्थीलाई खुवाउने गरेका छौँ।’

यो विद्यालयका विद्यार्थीहरुले पिउने पानी पनि खोलाको फोहर पानी नै हो। तर अहिले सम्म कोही विद्यार्थी फोहर पानी पिएका कारण बिरामी भने नभएको उनले बताए। ‘पानी त खोलाबाट बोकेर ल्याइएको हुनाले फोहर नहुने कुरै भएन,’ उनले भने ‘तर पानी शुद्धीकरण गर्ने कुनै उपाय नै छैन, पानीकै कारण अहिले सम्म विद्यार्थीहरू बिरामी परेको अवस्था त छैन।’

वर्षौँ देखि खोलाको पानीले तिर्खा मेट्दै आएका नाकावासी विद्यार्थीहरुलाई सफा शुद्ध पानी पिउने अवस्था चाँडै नहुने स्थानीय सरकार देख्छ। राजपुर गाउँपालिकाले स्थानीय तहबाट मात्रै नाका क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न नसक्ने बताउँछ।

नाका क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि अर्बौँ बजेटमा बहु वर्षीय आयोजना सञ्चालन गर्नुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले बताए।

‘स्थानीय तहको बजेटले त्यहाँ खानेपानीको आयोजना सञ्चालन हुने वातावरण बन्दैन,’ उनले भने ‘संघीय सरकारले नै बहु वर्षीय आयोजना सञ्चालन गर्न सके मात्रै नाका क्षेत्रमा खानेपानी पुर्‍याउन सकिन्छ।’

नागरिकन्यूजबाट