☰ open Loading... 20 May 2024|  

आधारभूत तहको परीक्षा दिँदै जनप्रतिनिधि
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार १७:४६

जानकी गाउँपालिका–३ का राजेन्द्र सिंहको परिवार २०५३ सालमा घरबाट अलगअलग भए। सामान्य परिवारका बाबुआमा, दिदीबहिनी र भाइको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा सर्‍यो। जसले गर्दा परिवार पाल्नकै लागि उनले पढाइ छाडेर नेपालगन्जका विभिन्न व्यावसायिक प्रतिष्ठानमा काम सुरु गरे। पढाइभन्दा उनलाई परिवारको पालनपोषण र हेरचाह प्रमुख जिम्मेवारी बन्यो।

टाइल, मार्बलको व्यवसाय सुरु गरे उनले। व्यवसायसँगै उनी पछिल्लो समय राजनीतिमा पनि सक्रिय भए। उनी अहिले जानकी गाउँपालिकाको कार्यपालिका सदस्य छन्।

बाह्य ज्ञान र जीवन जिउने शिक्षा उनीमा हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्र नहुँदा उनलाई सधैँ पिरलो हुन्थ्यो। कयौंपटक उनले आफू अपहेलित भएको महसुस गरेका छन्। जसका कारण उनले पुनः आधारभूत तहको कक्षा ८ बाट पढाइ सुरु गरे र बिहीबारबाट सुरु भएको परीक्षामा उनी सहभागी भए।

जानकी माध्यमिक विद्यालयबाट उनले कक्षा ८ को परीक्षा दिएका छन्। सोही विद्यालयबाट उनले पढाइ छाडेका थिए। उनी परीक्षामा सहभागी हुन पुग्दा विद्यार्थीहरू अचम्मित बनेका थिए।

‘म परीक्षा केन्द्रमा पुग्दा विद्यार्थीले पत्याएका थिएनन्,’ उनले भने, ‘परीक्षा सुरु भएपछि मात्र उनीहरुले हाँसेरै पत्याए।’ समाजको व्यवहारिक शिक्षा प्राप्त गरे पनि विद्यालयको पढाइ पूरा गर्न थालेको उनको भनाइ छ। ‘शिक्षित समाज निर्माणका लागि पहिला आफैँ शिक्षित हुन जरुरी छ,’ उनी भन्छन्, ‘अनि मात्र अरूलाई ज्ञानका कुरा सिकाउन सकिन्छ।’

राजनीतिमा कुनै दिन शैक्षिक योग्यता तोकिन सक्ने हुँदा विद्यालय शिक्षा लिन अनिवार्य भएको भन्दै उनले भने, ‘व्यवसायसँगै राजनीति पनि गरिरहेको छुँ। पढाइकै कारण भोलि राजनीति रोकियो भने मेरो सपना चुक्नाचुर हुन्छ। त्यसैले ढिलो गरी अहिलेबाटै भए पनि पढाइलाई निरन्तरता दिएको छुँ।’

८ कक्षा उत्तीर्ण भएपछि कक्षा ९ मा भर्ना हुने र एसइई परीक्षासम्म पुग्ने उनले बताए। ‘अब पढाइलाई नियमित गरी एसइई पनि दिन्छुँ,’ उनले भने, ‘त्यो भन्दा माथिल्लो उच्च शिक्षासम्म अध्ययन गर्ने इच्छा छ।’

अझै अध्ययन गरेर आफू सक्षम हुने उनको भनाइ छ। जीवन जिउने व्यवहारिक ज्ञान भए पनि शैक्षिक प्रमाणपत्र नहुँदा कयौं ठाउँमा असजिलो भएको उनी बताउँछन्।