☰ open Loading... 18 September 2024|  

साढे ३४ करोड बिगो मागसहित केदार गौतमविरुद्ध मुद्दा दायर
पश्चिम नेपाल   | ५ चैत्र २०८०, सोमबार २०:५५

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले तेजबहादुर थापा भनिने केदार प्रसाद गौतमसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले बैंकिङ कसूर मुद्दामा ३४ करोड ६९ लाख ४१ हजार ८१६ रुपैयाँ बिगो मागदाबीसहित गौतमविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै अर्का प्रतिवादी कृष्णहरि थापाविरुद्ध ३४ करोड १७ लाख २९ हजार १०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने वसन्त राई भनिने सूर्यबहादुर लिम्बुलाई ६ करोड ८ लाख बिगो माग गरिएको छ।

सरकारी वकिल कार्यालयले विसं २०७२ भदौ २१ गते गौतमविरुद्ध सम्पत्ति सुद्धीकरण कसूरमा अनुसन्धान गर्न निर्देशन दिएको थियो। अनुसन्धानमा गौतमले कृष्णहरि थापाको मिलेमतो र आपसी योजनामा कृषि विकास बैंकबाट रकम अपचलन गरेका थिए।

गौतमले प्रतिवादी कृष्णहरि थापाको समेतको मिलेमतोमा कृषि विकास बैंकबाट अपचलन गरिएको उक्त रकम गैरकानुनी स्रोत लुकाउने मनसायले रन्जित भट्टराई, सरोज यादव, नबिन गुरुङ्ग र बलराम केसीसमेतको नाममा ट्रान्सफर गरेका थिए। उक्त रकम फेरि बलराम केसी, नगेन प्रधान, नवीन गरुङ, सुमन शर्मा, सरोज यादव समेतका ११ जनाको नाममा कृषि विकास बैंकमा खोलिएका १० वटा खाता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा खोलिएको एक खातामा ट्रान्सफर गरिएको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने काम गर्नुका साथै कारोबारमा जटिलता सिर्जना गर्ने मनसायले काल्पनिक र अस्तित्वमा नै नरहेका विभिन्न मानिसका नाममा खाताहरू खोलेर उक्त रकमको कारोबार गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।

विभागले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार कैद सजायको मागसमेत गरेको छ। त्यस्तै उनीहरूको बैंक खातामा जम्मा रहेको कसुरबाट प्राप्त सम्पत्ति तथा साधन जफत गर्नसमेत माग गरिएको छ।