☰ open Loading... 17 September 2024|  

सामुदायिक वनको आय हिनामिना गर्ने तीन पदाधिकारीसहित चार दोषी ठहर
पश्चिम नेपाल   | ६ चैत्र २०८०, मंगलवार २१:००

सामुदायिक वनको रकम हिनामिना गर्ने चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । कैलालीको चुरे गाउँपालिकास्थित गुप्तपानी सामुदायिक वनको आय मासेको अभियोगमा तीन पदाधिकारी र अडिटरलाई विशेषले दोषी ठहर गरेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो । आठ वर्षअघिको घटनामा विशेषमा गत वर्ष मुद्दा दायर भएकोमा सबै प्रतिवादीमाथि कसुर कायम भएको हो ।

विशेषका अनुसार उपभोक्ता समिति अध्यक्ष मनिराम आचार्यमाथि सजाय निर्धारण गर्न २८ चैतको पेसी तोकिएको छ । उनले भ्रष्टाचार निवारण ऐनको दफा ३(१)(घ) बमोजिम सजाय हुने कसुर गरेको विशेषको ठहर छ ।

उपभोक्ता समितिका पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आर्थिक वर्ष ०७२÷७३ र ०७३÷७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदनसमेत नगराई हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसमा तत्कालीन अध्यक्ष आचार्य तथा सचिव र कोषाध्यक्षको मिलेमतोमा रकम मासेको देखिएको थियो ।

विशेषले हिक्मतसिंह भाट र पृथ्वीराज विष्टलाई जनही एक वर्ष तीन महिना कैद सजाय सुनाएको छ । साथै, दुवैले जनही नौ लाख १९ हजार रुपैयाँभन्दा बढी जरिवानासमेत तिर्नुपर्नेछ । भाट गुप्तपानी सामुदायिक वनका तत्कालीन सचिव र विष्ट कोषाध्यक्ष थिए ।

उपभोक्ता समितिबाट निर्णय नभएको तथा कार्ययोजना नै पास नभएको अवस्थामा उनीहरुले वनको रकम खर्च गर्न समितिको चेकमा हस्ताक्षर गरी अध्यक्ष आचार्यलाई दिने गरेका थिए । दुवै मिली औचित्यबिना बिल भरपाइ गरेको दाबी अख्तियारको थियो । उनीहरु दुईका कारण १८ लाख ३८ हजार रुपैयाँ मासिएको अभियोग थियो ।

यस मुद्दामा अडिटर गौरीप्रसाद नाथसमेत दोषी पाइएका छन् । उनले भए गरेका कुरा लुकाईछिपाई नभएको कुरा उल्लेख गरी बदनियतपूर्वक अडिट प्रतिवेदन पेश गरेको पुष्टि भएको हो । नाथलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

अख्तियारले ३० असोज ०७९ मा मुद्दा दायर गरेको थियो । वनको २५ लाख २४ हजार रुपैयाँ अनियमितता भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।