☰ open Loading... 17 September 2024|  

सरकारले दिने भनेको सुविधाबाट सुत्केरी बञ्चित
पश्चिम नेपाल   | ८ चैत्र २०८०, बिहीबार ०५:०५

हुम्ला । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्ला सिमकोट गाउँपालिका- ७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिनादेखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाइमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भजाँच गराएको आठ पटकको ३ हजार रुपैयाँ र गाउँपालिकाले दिँदै आएको २ हजार गरी पाँच हजार रुपैयाँ नपाएको स्वास्थ्य इकाइका इन्चार्ज राम बहादुर शाहीले बताए ।

वडा कार्यालयले उक्त रकम निकासा नगर्दा आफुले स्वास्थ्य इकाइमा सुत्केरी हुँदै आएका सुत्केरी आमालाई उक्त रकम दिन नसकेको इन्चार्ज शाहीको भनाइ छ । गाउँपालिकाले आमा सुरक्षा कार्यक्रमको बजेट वडाको खातामा हालिसकेको भएपनि वडाले भुक्तानी नगरी दिँदा सरकारले दिएको सुविधा पाउनबाट ती महिला वञ्चित भएका हुन् ।

स्वास्थ्य इकाइमा सुत्केरी भएका प्रतिमहिलाले पाँच हजार रुपैयाँ पाउने गरेका छन् । इकाइमा सुत्केरी भएका महिला दैनिकजसो रकम माग गर्दै कार्यालयमा पुगेपनि वडाले निकासा नगर्दा खालि हात फर्किनु परेको छ । वडाले भुक्तानी नगरिदिँदा स्वास्थ्यकर्मीले ती सुत्केरी आमाको गुनासो झेल्नु परेको छ । इकाइका अनुसार सामुदायिक स्वास्थ्य इकाइले ६ महिनादेखि प्रशासनी खर्च समेत पाउन सकेको छैन् ।

गाउँपालिकाले वडाको खातामा रकम जम्मा गरेपनि साउनदेखि भुक्तानी निकासा रोकिँदा प्रशासनिक खर्च नभएर कामकाजमा समस्या भएको छ । पटक–पटक वडाध्यक्षलाई भुक्तानी निकासा गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको हो । यता वडाध्यक्ष बलविर शाहीका अनुसार स्वास्थ्य इकाइ सञ्चालन भइरहेको जगा स्थानीय जग्गाधनी काल्चे शाहीले स्वास्थ्य इकाइको नाममा नामसारी नगरी दिँदा उक्त सुविधा रोकेको बताए ।