☰ open Loading... 28 April 2024|  

पश्चिम सर्दै वर्षा
पश्चिम नेपाल   | ८ चैत्र २०८०, बिहीबार ०८:४३

पूर्वी र मध्यनेपालकेन्द्रित वर्षा बिहीबार पश्चिममा पनि फैलने भएको छ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना उल्लेख बढिरहेका वेला बुधबार कोशी, मधेश, बागमती र गण्डकीका केही ठाउँमा वर्षा हुँदा राहत मिलेको छ ।

वर्षा बिहीबार र शुक्रबार पनि हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘बुधबारभन्दा कम वर्षा हुन्छ । छरिएर वर्षा हुने देखिन्छ,’ मौसमविद् अधिकारीले भने, ‘बिहीबार देशभर बदली भए पनि पश्चिममा गण्डकीसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका एक–दुई ठाउँमा वर्षा हुन सक्छ ।’ बिहीबार पनि पश्चिमभन्दा पूर्वी र मध्य नेपालमा बढी वर्षाको सम्भावना छ ।

कोशी, मधेशका तराई भेगमा हावाहुरीको सम्भावना पनि छ । बुधबार पूर्वी र मध्य नेपालमा झरी नै परेको थियो । काठमाडौं उपत्यकामा पनि दिनभर पानी परेको थियो । पछिल्लो २४ सर्लाहीको चुरेमाई क्षेत्रमा ३१.८ सिन्धुलीको रानीबास क्षेत्रमा ३१ र ललितपुरको लेलेमा १६.६ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणालीको असरका कारण पानी परिरहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व बहन्छ, जुन खासै सक्रिय छैन ।तर, बिहारआसपासमा रहेको न्यूनचापीय प्रणालीको असरका कारण बादल पूर्वबाट पश्चिम बहँदै गएको छ । ‘माथिल्लो वायुमण्डलको न्यून चापका कारणले नै तल्लो वायुमण्डलमा प्रभाव परेको हो,’ अधिकारीले भने, ‘बिहारबाट नजिक पर्ने भएकाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा खिचेर ल्याएको छ, बदली र वर्षा पनि पूर्व र मध्य नेपालमा धेरै भएको हो ।’