☰ open Loading... 18 September 2024|  

एमाले सुर्खेतमा अध्यक्षको आंकाक्षी बढे
पश्चिम नेपाल   | ८ चैत्र २०८०, बिहीबार १९:५४

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौं जिल्ला अधिवेशन बिहीबारबाट सिटी हलमा सुरु भएको छ । अधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रपछि हुने बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ । त्यसपछि नेतृत्व चयनको प्रकृया अघि बढ्ने जनाईएको छ ।

विगतमा विचार नमिल्नेहरुको गठबन्धन भएको तर अहिले विचार मिल्नेहरुको भएको एमालेका महासचिव पोखरेलले बताए । जनताको निराशा अँझै आशामा नबदलिएको उनले बताए । जनताको आशा जोगाउनका लागि गठबन्धन भत्काउनु परेको पोखरेलले बताए ।

सुशासनमा जनताले अहिलेको गठबन्धनले गरेको कामहरुबाट महशुस गरिसकेको उनको भनाई थियो ।

एमाले सुर्खेतको नेतृत्व (अध्यक्ष) का लागि धेरै नेताहरु आकांक्षी देखिएका छन् । विभिन्न टिम बनाएर नेताहरु अध्यक्षका लागि आकांक्षी देखिएका छन् । जसले गर्दा अध्यक्ष लगायतका पदहरुमा मतदान हुने देखिन्छ ।

नेतृत्व सहित सवै पदमा सहमति गर्ने नभएमा चुनावी प्रकृयाबाट चयन हुने प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले बताए । एमाले नेताहरु यामलाल कँडेल, नवराज रावत र गोरख बोगटी निकटहरु अध्यक्षमा आंकाक्षी रहेका छन् । कँडेल दैलेख जिल्ला ईन्चाज तथा संसदीय दलका नेता हुन् भने, रावत केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज रहेका छन् त्यस्तै बोकटी सुर्खेत जिल्ला ईन्चाज रहेका छन् ।

श्रोतका अनुसार कँडेल समूहबाट कुलमणि देवकोटा र कविन्द्र केसी देखिएका छन् भने बोगटी र रावतको समूहबाट अमृत बहादुर बिसि र दण्डीप्रसाद शर्मा देखिएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका मोहन बडुवालले पनि अध्यक्षको आकांक्षा राखेको बुझिएको छ ।

अधिवेशनका लागि ९ वटा स्थानीय तह र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४ सय ९५ जना प्रतिनिधि छनौट भएका जनाईएको छ । जसमा सल्लाहकार २५ जना, जनवर्गीय संगठन ४२ जना, आयोजक १ सय २७ जना, दलित समावेशी कलस्टर ६९ जना र अन्य कलस्टर २ सय ३२ जना रहेका छन् ।