☰ open Loading... 28 April 2024|  

कोशी र मधेशमा मेघगर्जसहित पर्दैछ पानी, यी प्रदेशमा पनि वर्षाको सम्भावना
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार ०६:४९

कोशी र मधेश प्रदेशका एक दुई स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

यस्तै कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।