☰ open Loading... 30 April 2024|  

कर्णालीका हिमाली जिल्लामा अझै पुगेन पाठ्यपुस्तक
पश्चिम नेपाल   | २० चैत्र २०८०, मंगलवार ११:१३

जनक शिक्षा सामग्री केन्द्रले यही १५ र १६ गते मुगुका पुस्तक व्यवसायीलाई कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लिनका लागि सूचना प्रकाशित गर्‍यो । तर व्यापारी सम्पर्कमा नआउँदा हिमाली जिल्ला मुगुमा एक सेट पनि पाठ्यपुस्तक जान सकेको छैन । त्यस्तै हुम्लाका लागि चैत ९ देखि १३ र डोल्पाका लागि १४ गतेका लागि पाठ्यपुस्तक बिक्री वितरण तालिका प्रकाशित गर्‍यो ।

दुवै जिल्लामा मुस्किलले ६/६ सय सेट किताब गएका छन् । जबकि ती जिल्लामा कम्तिमा ५/५ हजार सेट किताब आवश्यक पर्छ ।

त्यस्तै, जुम्लामा झण्डै ५ हजार सेट पाठ्यपुस्तक चाहिने भए पनि जीपी स्टेसनरीले ५ सय थान मात्र किताब लिएको छ भने कालीकोटका लागि १ हजार सेट किताब बिक्री भएको छ । केन्द्रले प्रदेशभरि पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । तर अझै पनि १०/१२ वटाबाहेक अन्य व्यवसायी पुस्तक खरिद गर्न आएका छैनन् ।

बिक्रेता नै नआउँदा किताबजति सुर्खेतमै थन्किएको केन्द्रका प्रादेशिक प्रमुख भैरववावु पन्तले बताए । उनका अनुसार आगामी शैक्षिक सत्रका लागि सुर्खेतबाट २५ हजार सेट किताब वितरणको लक्ष्य भए पनि ६ हजार सेट मात्र किताब उठेको छ ।

‘केन्द्रबाट किताब किनेका बिक्रेताले पनि किताब जिल्लामा लैजान सुरु गरेका छैनन्,’ उनले भने, ‘एक हप्ताभित्र सबै किताब नउठे भर्ना अभियानमा विद्यार्थीले किताब पाउन मुस्किल हुन्छ ।’ उनका अनुसार डोल्पा र हुम्लाका लागि नेपालगन्जबाट किताब वितरण हुन्छ । तर त्यहाँ पनि व्यापारी सम्पर्कमा पुगेका छैनन् ।

कर्णालीका पहाडी जिल्लामा पनि बढीमा ६ सयभन्दा बढी किताब गएका छैनन् । पाठ्यपुस्तकका लागि स्थानीय तहहरुले विद्यालयको खातामा रकम नपठाउँदा व्यवसायीले किताब नमानेको केन्द्रले जनाएको छ । सुर्खेतस्थित नविन बुक्स एण्ड स्टेसनरीका प्रोपाइटर चेतन कँडेलले स्थानीय तहमार्फत विद्यालय हुँदै आफूहरुले रकम पाएपछि जनक शिक्षाबाट किताब लिने गरेको बताए ।

‘स्थानीय तहहरुले अझै विद्यालयलाई पैसा दिएका छैनन्, विद्यालयले हामीलाई विद्यार्थीको तथ्यांकसहित रकम दिए मात्र किताब लिन सहज हुन्छ,’ उनले भने, ‘लगानी डुब्ने भएपछि हामीले पनि आफैँ लगानी गरेर किताब ल्याउन सकिदैन, तर किताबको दोषजति हामी व्यवसायीलाई मात्र दिने गरिएको छ ।’

इकान्तिपुरबाट