☰ open Loading... 30 April 2024|  

जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
पश्चिम नेपाल   | २४ चैत्र २०८०, शनिबार ०८:१०

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, डहरे र काफलडाँडाको बीच सडकमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिप चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ४ का ३७ वर्षीय वीरसिंह दमाईको घटनास्थलमै मृत्यु भएको हो ।

डहरेस्थित निर्माणाधीन सुपर न्यादी जलविद्युत् आयोजनाको कामदार पुर्‍याएर फर्किने क्रममा शुक्रबार बिहान बा१७च १४६५ नम्बरको बोलेर जिप सडकबाट करिब ४ सय मिटर खसेको थियो । दुर्घटनाको खबरपछि खटिएको प्रहरी टोलीले शव सडकबाट डेढ सय मिटर तल फेला पारेको थियो । जिपमा चालकमात्रै रहेको खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत एवं सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले दिउँसो २ बजेतिरमात्रै शव पोस्टमार्टमका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको छ । प्रहरी, जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा खटिएको नेपाली सेनाको बम ब्लाष्ट टिम र स्थानीयले डोरीको सहायताबाट शव निकालेका थिए ।