☰ open Loading... 17 May 2024|  

बाँकेमा बढ्दै डाँका समूहको लुटपाट, के गर्दै छ प्रहरी प्रशासन ?
पश्चिम नेपाल   | २४ चैत्र २०८०, शनिबार १९:२४

जानकी गाउँपालिका–६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा बिहीबार राति डाँकाहरुको समूहले लुटपाट गर्‍यो। करिब राति १ बजेतिर आएको डाँका समूहले लोकेन्द्रलाई कुटपिट गरी नगद र गरगहना लुटे।

उक्त समूहसँग पेस्तोल, तरबार र खुकुरी भएकाले घरपरिवार प्रतिकारमा उत्रिएनन्। उनीहरुलाई डाँकाहरुको समूहले बाँधेर लुटपाट गरेको पीडित परिवारले जनाएका छन्।

यस्तै प्रकृति तर, ठूलो घटना नेपालगन्ज र जानकी गाउँपालिकाको सीमा क्षेत्र इन्द्रपुरमा फागुन २३ गते पनि भएको थियो। हतियारसहित आएका ६ जना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारुको घरबाट लुटपाट गरेका थिए। प्रतिकार गर्न खोज्दा लुटेराको समूहको कुटपिटबाट सन्तोषको उपचारको क्रममा ज्यानै गयो। उनकी श्रीमती सविता राजवंशी थारु घाइते भएकी थिइन्। लुटेराको समूहले यहाँबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार रुपैयाँ लुटेका थिए। नेपालगन्ज, कोहलपुरलगायतका सहरी क्षेत्रमा सामान्य चोरीका घटना अनगन्ती मात्रामा छन्।

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तामा २२ वर्षीय मोहम्मद अरबी खाँको विभत्स अवस्थामा शव फेला परेको थियो। उनका आफन्तले हत्या भएको दाबी गरेका छन्। तर, विडम्बना यी घटनामा संलग्न आपराधिक समूह भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। फितलो सुरक्षा व्यवस्थाका कारण बाँकेमा आपराधिक घटना बढ्दो क्रममा छन्। जसले सर्वसाधारणमा त्रास पैदा भएको छ।

नेपालगन्ज, खजुरालगायतका क्षेत्रमा भएका हत्याहिंसाका घटनाले स्वतन्त्रपूर्वक, भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा असर पर्दै आएको बाँकेका अधिकारकर्मी र कानुन व्यवसायीहरूले बताएका छन्।

राज्यका तर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरुको शान्ति सुरक्षाप्रति चनाखो हुन र आपराधिक घटनामा संलग्न व्यक्ति समूहको पहिचान गरी कानुनी दायरामा ल्याइ पीडकलाई कारबाही र पीडितलाई न्याय दिन अधिकारकर्मी र कानुन व्यवसायीले अपिल गरेका छन्।

जिल्लाको शान्ति सुरक्षाका विषयमा प्रहरी परिचालित भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले भने, ‘घटेका घटनाका विषयमा प्रहरीले गम्भीर रूपमा लिएको छ। गहिरिएर अनुसन्धान भइरहेको छ। शङ्कास्पद व्यक्तिसँग सोधपुछ तथा निगरानी भइरहेको छ।’

प्रहरी प्रमुखलाई नै पैसा असुलीको आरोप

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास बोहरालाई तस्करहरुबाट पैसा असुली गरेको आरोप लागेको छ।

उनले वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) लगायत चार जनालाई पैसा असुलीको जिम्मा दिएको र उनीहरुले एसपी बोहरालाई तस्करीबाट संकलन भएको पैसा बुझाउने गरेको आरोप लागेको हो।

एक स्थानीय सञ्चार माध्यमले तस्करीबाट पैसा उठाउन एसपी बोहराले कोरटिम बनाएको सार्वजनिक गरेको छ। तस्करीबाट उठाएको पैसा एसपी बोहरालाई दिएको भनी ती चार प्रहरीले दिएको प्रतिक्रियासमेत उक्त सञ्चार माध्यमले प्रकाशन गरेको छ।

जिल्लाको प्रहरी प्रमुख नै पैसा असुलीमा लागेपछि जिल्लाको शान्ति सुरक्षा बिथोलिएको हुनसक्ने प्रतिक्रिया स्थानीयले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। तस्करहरुसँग मिलेर अवैध सामान नेपाल प्रवेश गराउनेजस्तो गम्भीर आरोप लागेका एसपी बोहराको सुरु भएको छ।

छानबिन समिति गठन

शान्ति सुरक्षा व्यवस्थित गर्न नसकेका एसपी बोहराको बारेमा अनुसन्धान गर्न लुम्बिनी प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले बाँकेका एसपी बोहरालगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटिप्पणीहरुका सम्बन्धमा विशेष ध्यानाकर्षण भएको जनाएको छ।

सो सम्बन्धमा छानबिन गरी सत्य तथ्य बुझ्न प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रक्रिया अगाडि बढेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

नागरिकन्यूजबाट