☰ open Loading... 3 May 2024|  

हरिनगर र देवानगञ्ज क्षेत्रमा कर्फ्यु जारी
पश्चिम नेपाल   | २५ चैत्र २०८०, आईतवार २०:५१

सुनसरी हनिरगर वडा नं-४ मा आइतबार अपराह्न फेरि प्रहरीको टोलीमाथि एक समूहले अन्धाधुन्ध आक्रमण गरेको छ। आक्रमणमा डिएसपीसहित १५ जना प्रहरी घाइते भएका छन्।

बिहीबार हरिनगर वडा नं-३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेको घटनापछि शुक्रबार रामनगर भूटाहामा दोहोरो भिडन्त भएर घटनाले उग्र रूप लिएको थियो

साे पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइमा वार्ता भएको थियो। वार्तामा शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भयो। सहमति लगतै एक समूह वार्ता स्थलबाट निस्किएर अन्य समूह जुटाएर अन्धाधुन्ध प्रहरीमाथि आक्रमण भएको हो।

आक्रमणमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीसहितका प्रहरी घाइते भएका हुन्। जसमा अहिले सात जना डिस्चार्ज भइसकेका छन् भने अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयले सहमति भइसकेको विषयमा एक समूहले थप व्यक्ति डाकेर अन्धाधुन्ध प्रहरीमाथि आक्रमण हुनु अमानवीय घटना भएको जनाएको छ।

सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र केही राउन्ड अश्रुग्याँससँगै केही राउन्ड ब्लाङ्क फायर गरिएको डिएसपी भण्डारीले बताए। अहिले भने त्यहाँ स्थिति नियन्त्रणमा आइसकेको छ।

प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा कर्फ्यु कायमै राखेको छ। शुक्रबारदेखि कार्यालयले हरिनगर गाउँपालिकासँगै इनरुवा नगरपालिका तथा देवानगञ्ज, भोक्राहा-नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। जसमा अन्य तीन वटा पालिकामा कर्फ्यु हटाइएको छ।

शुक्रबार दोहोरो भिडन्त हुँदा प्रहरी र सर्वसाधारण गरि २९ जना घाइते भएका थिए। त्यतिबेला प्रहरीले स्थितिमा नियन्त्रणमा लिनका लागि साँझसम्म ८० राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो।