☰ open Loading... 3 May 2024|  

सोमबार (आज) देशका १३० स्थानमा ‘डढेलो’,
पश्चिम नेपाल   | २६ चैत्र २०८०, सोमबार २०:४८

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ। काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ। वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ।

‘वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ’, थापाले भने।

उनका अनुसार आज काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, खुमलटारमा एक सय ५८, भक्तपुरमा क्यान्सर अस्पतालमा एक सय ७४, रत्नपार्कमा एक सय २० एक्यूआई मापन गरिएको छ। जुन स्वास्थ्यका दृष्टिकोणले अति अस्वस्थकर भएको उनको भनाइ छ।

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना घट्छन्। ‘असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गरेको पाइन्छ’, उनले भने, ‘मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ।’ उनले यतिबेला वन डढेलो, निर्माणाधीन पूर्वाधारका साथै धुलो धुलो, प्लास्टिक बाल्दा तथा सवारी साधनका कारण पनि वायु प्रदूषण हुने गरेको बताए।

‘प्रदूषण कम गर्न सडक बिस्तार तथा निर्माणका साथै सवारी साधन जाँच पासमा पनि ध्यान दिन जरुरी छ’, उनले भने, ‘प्रदूषण नियन्त्रणका योजनाको उचित कार्यान्वयनका आवश्यक छ।’