☰ open Loading... 21 May 2024|  

चट्याङ लागेर दुई जनाको मृत्यु
पश्चिम नेपाल   | २ बैशाख २०८१, आईतवार २१:१७

पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।

भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हावाहुरी, र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुनका लागि गोठमा जान पिँढीमा निस्किँदा एक्कासि चट्याङ लागेको थियो । त्यसैगरी चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

प्रहरीको टोली अहिले दुवै घटनास्थलमा मुचुल्काका लागि पुगेको र थप विवरण पछि आउने उनले बताए ।