☰ open Loading... 30 April 2024|  

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र
पश्चिम नेपाल   | ५ बैशाख २०८१, बुधबार २०:४९

यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द भएको भनियो,’ छोटो घर बिदामा आएका कास्की मणिडाँडाका धितालले भने, ‘म पोखराबाट मंगलबार बिहानै बस चढेर दिउँसो गोगंबु बसपार्कबाट सिधै ४ बजे काठमाडौं एयरपोर्ट आए, २४ घन्टा बित्यो, यतै छु ।’

उनकाअनुसार, राति १० बजे उनी बोर्डिङ पास लिन चेकइन काउन्टर पुगेका थिए । तर, फ्लाई दुबईका कर्मचारीले उडान नहुने भनी फर्काए ।

विमानस्थलस्थित टर्मिनल कार्यालयकाअनुसार, फ्लाई दुबईको दुई उडानबाट दुबई तथा तेस्रो मुलुक जानुपर्ने ३ सय हाराहारी यात्रु थिए ।

‘उडान नहुने भएपछि राती यात्रुहरु व्यवस्थापन गर्न कठिनाई भयो,’ मध्यरातमा यात्रुहरुको व्यवस्थापनमा जोडिएका विमानस्थलका एक कर्मचारीले भने,‘फ्लाई दुबईका कर्मचारीलाई बोलाएर यात्रु व्यवस्थापन गर्न लगायौं ।

-इकान्तिपुरबाट