☰ open Loading... 5 May 2024|  

आगामी ३ दिनसम्मै कोशी, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना
पश्चिम नेपाल   | ९ बैशाख २०८१, आईतवार ०८:०१

आगामी ३ दिनसम्मै कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। मधेस र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।