☰ open Loading... 5 May 2024|  

पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन
पश्चिम नेपाल   | ९ बैशाख २०८१, आईतवार ०८:०९

गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी राई अझैसम्म फरार हुँदा पीडितले न्याय पाउने आशा गर्न सकेका छैनन् ।

त्यसमाथि सहकारी ठगीका मुख्य आरोपी जीबीराईसँग विगतमा गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका रवि लामिछाने नै गृहमन्त्री रहेकाले वचत फिर्ता हुने र दोषीलाई कारबाही हुनेमा पीडितहरु सशंकित बनेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीबाटमात्रै १८ हजार ७ सय पीडित छन् । उनीहरुको १ अर्ब ३५ करोड बचत अपचलन भएको अनुसन्धानले देखाएको छ ।

बागलुङ र पोखरामा सञ्चालित इमेज सहकारीका पीडितहरुले पनि न्यायको लडाईँ लड्न थालेको दुई वर्ष भन्दा बढी भयो । बागलुमा ३ र पोखरामा एउटा गरी चार शाखाबाट इमेज सहकारी चलाएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि गत सालको जेठ ५ गतेदेखि फरार छन् ।

पोखराको इमेज सहकारीबाट मात्र ८ हजार २३१ पीडित छन् । उनीहरुको ६४ करोड ८८ लाख अपचलन भएको छ । बागलुङमासमेत गरी सवा २ अर्ब त इमेज सहकारीबाट मात्र अपचलन भएको तथ्यांक छ । पोखराकै शिवशिखर सहकारीका पनि ७ हजार १७० जना पीडित छन् ।

पोखराका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् तर बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । पोखराको शिवशिखरबाट ५४ करोड २३ लाख ८ हजार अपचलन भएको प्रहरीको तथ्यांक छ ।

पोखराकै बलिदानी सहकारीबाट ६ हजार ३४५ जनाको १० करोड ६९ लाख अपचलन भएको पाइएको छ । यसैगरी मित्रमिलन सहकारीबाट ३ हजार ४ सय ४६ पीडित र ३१ करोड ७८ लाख २२ हजारको हिसाब नदेखिएको प्रहरीको भनाइ छ ।
बिन्दवासिनी सहकारीबाट पनि करिब १० करोड हिनामिना भएको आरोप छ । यसरी पोखराका ६ वटा सहकारीबाट मात्र करिब ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ ।

लामो समयदेखि छुट्टाछुट्टै संघर्ष गर्दा दबाब नपुगेको भन्दै पोखराका यी ६ सहकारीका पीडित बचतकर्ता एकै ठाउँमा उभिएका छन् । पोखराका समस्याग्रस्त बनेका सहकारीका पीडितहरुले एक जुट भएर आन्दोलनको तयारी गरेका हुन् ।

राजनीतिक दलदेखि सरकारसम्मलाई सहकारीका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गराउन दबाब दिने उद्धेश्यले आन्दोलन गर्ने रणनीतिसहित एकै ठाउँमा भेला भएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

-अनलाइनखबरबाट