☰ open Loading... 16 May 2024|  

भिरबाट लडेर दैलेखमा दुई जनाले ज्यान गुमाए
गणेश बहादुर शाही, दैलेख   | १५ बैशाख २०८१, शनिबार २१:४५

दैलेखको आठबिस नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आठबिस नगरपालिका- ७ स्थित अन्दाजी ३८ वर्षीय कृष्णा चन्दको भिरबाट लडेर घटनास्थलमै ज्यान गएको हो ।

साँझ ५ बजेतिर दाउरा काट्ने क्रममा भिरबाट लडेर कृष्णाको मृत्यु भएको स्थानीयले जानकारी दिए । भिरबाट झण्डै पाच सय मिटर तल खसेको र आफन्त घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको आफन्त सुर्य बहादुर चन्दले जानकारी दिए । उनका एक मात्र छोरा बुहारी रोजगारीको लागि भारतको पुणेमा रहेको र उनीहरु आएपछि मात्र लास जलाउने चन्दले जानकारी दिए ।

त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको हो ।

मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १९ वर्षीय सुजन खड्काको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।