☰ open Loading... 17 May 2024|  

इन्डिगोले गर्‍यो ३० थान वाइड बडी जहाज अर्डर
पश्चिम नेपाल   | १७ बैशाख २०८१, सोमबार ०६:५९

दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ ।

भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्ने भन्दै वाइड बडी खरिद गर्ने घोषणा गरेको हो ।

इन्डिगोले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ‘ए३५०–९००’ सिरिजका जहाज खरिद गर्ने घोषणा गरेको हो । ती सबै जहाजमा रोल्स रोयसको ‘ट्रेन्ट एक्सडब्लूबी’ इन्जिन जडान गरिनेछन् ।

हाल इन्डिगोले ३ सय ५० भन्दा बढी जहाजबाट यात्रु सेवा उपलब्ध गराउँदै आएको छ । यसले २०२३ जुनमा एयरबससँग एकै पटक ५ सयथान जहाज खरिद अर्डर गरेको थियो ।
उक्त अर्डरपछि ए३२० फ्यामिली अन्तर्गत् इन्डिगोसँग १ हजारथान जहाज पुगेको छ ।

यी जहाज आगामी एक दशकभित्र एयरबसले इन्डिगोलाई आपूर्ति गर्ने तालिका छ । जसमा ए३२० निओ, ए३२१ निओ र ए३२१ एक्सएलआर सिरिजका जहाज छन् ।

इन्डिगोका अनुसार अहिले अर्डर गरिएका ए३५० वाइड बडी जहाज २०२७ बाट आपूर्ति सुरु हुनेछ । यो अर्डरसँगै थप ७० थान ए३५० फ्यामिलीका जहाज पनि अर्डर गर्ने अधिकारी प्राप्त भएको छ ।

‘यो अर्डर भारतीय उड्डयन क्षेत्रमा एक ऐतिहासिक अध्याय सावित भएको छ भने कम्पनीको भविष्यका लागि कोसेढुंगा पनि बन्ने विश्वास छ,’ इन्डिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पायटर एल्बर्सले भने, ‘ए३५० वाइड बडी आगमनपछि इन्डिगो विश्व उड्डयन बजारको एक प्रमुख खेलाडी बन्नेमा हामी ढुक्क छौं ।’

इन्डिगो तीव्र गतिमा बजार विस्तार भइरहेको वायुसेवा कम्पनी हो । भारतमा यसको आन्तरिक बजार हिस्सा ६२ प्रतिशत छ । यसले दैनिक २ हजारभन्दा बढी उडान गर्दै आएको छ । हाल इन्डिगोमा ३६ हजारभन्दा बढी कर्मचारी काम गरिरहेका छन् ।

इन्डिगोले २०२३ मा २ करोड ७५ लाख यात्रुलाई गन्तव्य पुर्‍याएको थियो । गत वर्ष नोभेम्बर २५ मा यसले ३ लाख ३० हजार ५ सय ३७ यात्रु बोकेको थियो ।

इन्डिगोसँग हाल १ सय ८४ थान ए३२० निओ, ९४ थान ए३२१ निओ, ४४ थान एटीआर, २ थान बी७७७, ३ थान ए३२१ फ्रेटर र ३१ थान ए३२० सीईओ गरी ३ सय ५८ जहाज सञ्चालनमा छन् । यसले हालसम्म ९ सय ६४ जहाज खरिद अर्डर गरिसकेको छ । यसका जहाजको औसत आयु ४.१५ वर्ष रहेको छ ।